ओखलढुंगाको मोलुङ गाउँपालिकामा विद्यालय सुधारका लागि २७ बुँदे प्रतिबद्धता जारी गरिएको छ ।
कोशी प्रदेशकै उत्कृष्ट सामुायिक विद्यालयका रूपमा परिचित वरुणेश्वर माध्यमिक विद्यालय, रामपुरको आयोजनामा जेठ २४ र २५ गते सम्पन्न शैक्षिक सम्मेलनले मोलुङ गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सामूहिक प्रतिबद्धता सार्वजनिक गरेको हो ।
सम्मेलनमा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, पूर्वविद्यार्थी तथा विभिन्न सरोकारवालाबीच सामुदायिक शिक्षाको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे विस्तृत छलफल तथा अन्तरक्रिया भएको थियो ।
‘सिकाईमा प्रविधि र गुणस्तर बरुणेश्वरको शान, नमुना विद्यालय निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ आयाजित सम्मेलनले विद्यालय सुधारका लागि समुदाय, विद्यालय र स्थानीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित २७ बुँदे प्रतिबद्धता जारी गरेको छ ।
कार्यक्रममा शैक्षिक अभियन्ता अभिषेक घिमिरे, चितवनस्थित नारायणी माध्यमिक विद्यालयका सफल पूर्वप्रधानाध्यापक पूर्णप्रसाद दवाडी तथा विज्ञ माधव भट्टराईले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि आफ्ना अनुभव, सिकाइ र सुझावहरू प्रस्तुत गरेका थिए ।
सिद्धिचरण नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा वरुणेश्वर माध्यमिक विद्यालयका पूर्वविद्यार्थी फणिन्द्रबहादुर कटुवालले नगरपालिकाले शैक्षिक सुधारका लागि अवलम्बन गरेका अभ्यास र उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख सुरेश ढकालले वरुणेश्वर माध्यमिक विद्यालय आफैंमा नमुना विद्यालय भएकाले यसको आयोजनामा भएको सम्मेलनबाट जारी प्रतिबद्धताहरू महत्वपूर्ण रहेको बताए । उनले जिल्लाका अन्य स्थानीय तहका विद्यालयहरूले पनि यस्ता योजनामूलक प्रतिबद्धता अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
‘हामी बनाउँछौँ, हाम्रो विद्यालय’ भन्ने आदर्श वाक्यका साथ बनाइएको प्रतिबद्धतापत्रमा विद्यालय सुधार अभियान सञ्चालन, मासिक कार्ययोजना र पारदर्शी बजेट व्यवस्थापन, डिजिटल अभिलेख प्रणाली, शिक्षक–प्रधानाध्यापक कार्यसम्पादन सम्झौता, अभिभावक–शिक्षक संवाद, पूर्वविद्यार्थी परिचालन, सिकाइ उपलब्धि वृद्धि, आधुनिक शिक्षण अभ्यास, अनुसन्धान र सहकर्मी समीक्षा लगायतका कार्यक्रम गर्ने प्रतिवद्धता जनाइएको छ ।
यस्तै उपचारात्मक कक्षा, बाल नेतृत्व विकास, चरित्र निर्माण, समावेशी शिक्षा, मातृभाषा र स्थानीय ज्ञानको प्रवद्र्धन, हरित विद्यालय अभियान, उद्यमशीलता विकास, बालमैत्री वातावरण, विपद् व्यवस्थापन, स्थानीय सरकार–विद्यालय सहकार्यलाई पनि अघि बढाइनेछ ।
सामुदायिक श्रमदान, सामाजिक उत्तरदायित्व, सामुदायिक सिकाइ केन्द्र, सुशासन तथा पारदर्शिता, सांस्कृतिक संरक्षण, शिक्षक व्यावसायिक विकास तथा एआई, आईसीटी र नवप्रवर्तनमा आधारित शिक्षण अभ्यासलाई प्राथमिकता दिइएको छ ।
प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले यसको कार्यान्वयनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद तिमल्सिनाले शैक्षिक सुधारका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइने बताए ।
गाउँपालिका शिक्षा शाखा प्रमुख सरस्वती पौडेलले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको सन्दर्भमा शैक्षिक सुधारका लागि व्यापक पहल आवश्यक रहेको उल्लेख गर्दै प्रतिबद्धतापत्रले गुणस्तर अभिवृद्धि र विद्यार्थी आकर्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
वरुणेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद खतिवडाले पालिकाभित्रका सबै विद्यालयले प्रतिबद्धतामा उल्लेखित कार्यक्रमहरू कार्यान्वयन गर्न सके सामुदायिक शिक्षामा गुणात्मक सुधार सुनिश्चित हुने दाबी गरेका छन् ।
यसैबीच विद्यालयको आयोजनामा सम्पन्न बृहत् विज्ञान प्रदर्शनीमा वरुणेश्वर माध्यमिक विद्यालयको ‘इन्टिग्रेटेड फर्म’ परियोजना प्रथम भएको छ । सोही विद्यालयको ‘स्मार्ट सिटी’ परियोजना द्वितीय र गणेश माध्यमिक विद्यालय, ढुस्केको ‘सोलार बक्स ओभन’ तृतीय भएको छ ।
त्यसैगरी वरुणेश्वर माध्यमिक विद्यालयकै ‘डीएनए मोडल’ प्रदर्शनी चौथो तथा ‘लन्डन ब्रिज’ परियोजना पाँचौं भएको विद्यालयले जनाएको छ । कार्यक्रमको अवसरमा स्थानीय समुदायले बालन नृत्य तथा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए भने कलाकारलाई वरुणेश्वर सेवा समाजका अध्यक्ष तोयानाथ काफ्लेले प्रोत्साहनस्वरुप व्यक्तिगत लगानीबाट पुस्कार प्रदान गरेका थिए ।
प्रधानाध्यापक खतिवडाका अनुसार संघीय सरकारको नमुना विद्यालय विकास गुरुयोजना कार्यक्रमअन्तर्गत प्राप्त १० लाख रुपैयाँ बजेटमध्ये ४ लाख रुपैयाँ खर्च गरी शैक्षिक सम्मेलन तथा विज्ञान प्रदर्शनी आयोजना गरिएको हो ।
कार्यक्रमले विद्यालय सुधारका प्रयासलाई थप बल पु¥याउनुका साथै विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान क्षमता र नवप्रवर्तनशील सोच विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया