ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकाले लिखु–४ जलविद्युत् आयोजनाको प्रवर्द्धक ग्रीन भेन्चर्स लिमिटेडलाई वातावरणीय प्रभाव मूल्यांकन (आईईई) प्रतिवेदन सहित गाउँपालिकाको कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
गाउँपालिकाले पटक–पटक पत्राचार गरेर आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीबाट पर्याप्त जानकारी र समन्वय नभएको जनाउँदै पुनः आधिकारिक प्रतिनिधिसहित उपस्थित हुन भनिएको हो । गाउँपालिका अध्यक्ष गम्बु शेर्पा द्वारा हस्ताक्षरित पत्रमा कम्पनीलाई २०८३ जेठ १९ गते बिहान १० बजे गाउँ कार्यपालिकाको कार्यालयमा वातावरणीय परीक्षण प्रतिवेदनसहित उपस्थित हुन भनिएको छ ।
यसअघि गाउँपालिकाले सामाजिक क्षेत्रमा गरिएको खर्च विवरणसहित प्रतिनिधि उपस्थित गराउन पत्राचार गरेको थियो । तर कम्पनीले प्रतिनिधि नपठाई खर्च विवरण मात्रै उपलब्ध गराएको थियो । उक्त विवरण सार्वजनिक भएपछि आयोजनाले सामाजिक काम तथा वातावरणीय असर न्यूनीकरणका नाममा गरेको खर्च अपारदर्शी रहेको भन्दै स्थानीयवासीले प्रश्न उठाएका छन् ।
कम्पनीले बुझाएको विवरण अनुसार वडा नं. १, २ र ३ मा गरी २ करोड ५१ लाख ६३ हजार ९१० रुपैयाँ विभिन्न व्यक्ति, उपभोक्ता समिति तथा सरकारी एवं गैरसरकारी संस्थालाई उपलब्ध गराइएको उल्लेख छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीधर खनालले हस्ताक्षर गरेर गाउँपालिकालाई प्रतिवेदन पठाएका हुन् ।
प्रतिवेदनमा तीन वडाका लागि २ करोड ९ लाख ८२ हजार ४१७ रुपैयाँ छुट्याइएको र विभिन्न चरणमा २ करोड १५ लाख ५४ हजार ७४८ रुपैयाँ खर्च गरिएको उल्लेख छ । गाउँपालिकामार्फत गरिएको थप ३ लाख २५ हजार रुपैयाँ जोड्दा कुल खर्च २ करोड ५१ लाखभन्दा बढी पुगेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार अधिकांश रकम वडा अध्यक्षको सिफारिस तथा उपभोक्ता समितिको मागका आधारमा चेकमार्फत भुक्तानी गरिएको हो । वडा नं. १ मा मात्रै ८४ लाख ९८ हजार ९३३ रुपैयाँ खर्च भएको देखाइएको छ । ग्रामीण विद्युतीकरण, खेलमैदान निर्माण, विद्यालय सहयोग तथा एम्बुलेन्स खरिदका लागि रकम उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।
यही क्रममा हिमालयन सामुदायिक संस्थानमार्फत एम्बुलेन्स खरिदका लागि २०७८ भदौमा रोशन महतराले ६ लाख रुपैयाँ बुझेको देखिए पनि हालसम्म एम्बुलेन्स खरिद नभएको विषय सार्वजनिक भएपछि स्थानीयले प्रश्न उठाएका छन् । महतराले भने सामाजिक सञ्जालमार्फत कोरोना महामारी लगायत कारणले एम्बुलेन्स खरिद प्रक्रिया अघि बढ्न नसकेको र रकम संस्थामै सुरक्षित रहेको स्पष्टिकरण दिएका छन् ।
त्यसैगरी मन्दिर, घाट तथा अन्य सामुदायिक संरचनाका नाममा विभिन्न व्यक्तिले लाखौं रुपैयाँ भुक्तानी लिएको विवरण सार्वजनिक भएपछि रकमको सदुपयोगबारे पनि स्थानीयस्तरमा आशंका व्यक्त गरिएको छ ।
वडा नं. २ मा ४४ लाख १३९ रुपैयाँ खर्च गरिएको कम्पनीले जनाएको छ । फेताले–धाप–नास्पु सडक निर्माणका लागि २५ लाख रुपैयाँ तथा ग्रामीण विद्युतीकरणका लागि १५ लाख रुपैयाँ खर्च गरिएको उल्लेख छ ।
सबैभन्दा बढी खर्च वडा नं. ३ मा भएको विवरणमा देखिन्छ । कम्पनीका अनुसार उक्त वडामा ८६ लाख ५५ हजार ६७६ रुपैयाँ खर्च गरिएको छ । खेलमैदान निर्माण, खिस्री खोला लघु जलविद्युत् मर्मत तथा सार्वजनिक सभाहल निर्माणका लागि रकम विनियोजन गरिएको कम्पनीले जनाएको छ । गाउँपालिकाको सिफारिसमा खिजीफलाटे प्रवेशद्वार निर्माणका लागि पनि ३ लाख २५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ ।
कम्पनीले स्थानीयवासीलाई ३१ करोड २५ लाख रुपैयाँ बराबरको शेयर वितरण गरिसकेको तथा सरकारलाई नियमित रूपमा रोयल्टी बुझाउँदै आएको दाबी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट २०६८ फागुन २८ गते अनुमति प्राप्त लिखु–४ आयोजना २०७८ कात्तिक २१ गतेदेखि सञ्चालनमा आएको थियो ।
कम्पनीले सार्वजनिक गरेको करोडौं रुपैयाँको खर्च विवरणपछि कतिपय स्थानीयले भने खर्चको पारदर्शिता तथा कार्यान्वयनको प्रभावकारिताबारे आवाज उठाउन थालेका छन् ।

प्रतिक्रिया