ज्येष्ठ नागरिकलाई सम्मान

भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगामा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य परीक्षण गर्दै मनाइएको छ ।

ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र, सिद्धिचरण नगरपालिका–१२ को आयोजना तथा सिद्धिचरण नगरपालिकाको सहयोगमा दिवस मनाइएको हो ।

दिवसका अवसरमा ८० वर्ष उमेर पूरा गरेका नरबहादुर कटवाल, लक्ष्मीकुमारी श्रेष्ठ र लालकुमारी श्रेष्ठ तथा ८० वर्षमुनिका रामबहादुर मगर गरी चार जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतको प्रमुख आतिथ्य तथा निवर्तमान नगरप्रमुख मोहनकुमार श्रेष्ठको आतिथ्यमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई दोसल्ला र खादासहित सम्मान गरिएको हो ।

कार्यक्रममा ज्येष्ठ नागरिक समाजका धरोहर भएकाले उनीहरूको सम्मान, संरक्षण र हेरचाहमा परिवार तथा समाजको जिम्मेवारी महत्वपूर्ण हुने बताइएको थियो । ज्येष्ठ नागरिकप्रति सम्मान र जिम्मेवारीको भावना आगामी पुस्तामा समेत हस्तान्तरण गर्न यस्ता कार्यक्रमले योगदान पुर्‍याउने सहभागी अतिथिहरूले बताएका छन् ।

दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहयोगमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको छ । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि वितरण गरिएको ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सिद्धिचरण नगरपालिका–१२ का अध्यक्ष ध्रुवकुमार राजभण्डारीले जानकारी दिए ।

‘दीर्घायुको युग : लामो जीवनका लागि प्रणालीहरूको पुनर्विचार’ भन्ने नारासहित यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो ।