ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूमा छड्के अनुगमन गर्दै शैक्षिक गतिविधिको अवस्थाबारे स्थलगत मूल्यांकन गरेको छ । शैक्षिक सत्र सुरु भएसँगै शिक्षक तथा विद्यार्थीको नियमित उपस्थिति, पठनपाठनको प्रभावकारिता र विद्यालयको समग्र शैक्षिक वातावरणको अनुगमन गरिएको हो ।
नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुंगाको संयुक्त टोलीले विभिन्न विद्यालयमा पुगेर अनुगमन गरेको छ । टोलीमा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुरेश ढकाल, नगर शिक्षा शाखा प्रमुख फणिन्द्र बहादुर कटुवाल लगायत सहभागी थिए ।
अनुगमनका क्रममा शिक्षक–विद्यार्थीको उपस्थिति, कक्षाकोठामा पठनपाठनको अवस्था, विद्यालय व्यवस्थापन र शैक्षिक अनुशासन जस्ता विषयमा विशेष ध्यान दिइएको शिक्षा शाखा प्रमुख कटुवालले बताए ।
उनका अनुसार सोमबार वडा नम्बर १ र २ का विद्यालय तथा मंगलबार वडा नम्बर ८ र १० का विद्यालय गरी हालसम्म ८ वटा विद्यालयमा अनुगमन गरिएको छ ।
हालसम्म कुनै गम्भीर समस्या नदेखिए पनि केही सामान्य कमजोरीहरू भेटिएकाले तत्काल सुधार गर्न निर्देशन दिइएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ढकालले बताए । उनले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आगामी दिनमा नियमित तथा आकस्मिक अनुगमन जारी रहने जानकारी दिए ।

प्रतिक्रिया