युगकविको जन्मजयन्तीमा कविता उत्सव, झापाका दुलाल प्रथम


ओखलढुंगा । नेपाली साहित्यका स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक सिद्धिचरण श्रेष्ठ को ११५ औँ जन्मजयन्ती शनिबार ओखलढुंगामा साहित्यिक कार्यक्रमका साथ मनाइएको छ । जन्मस्थल सिद्धिचरण नगरपालिका–१२ मा आयोजित साहित्यिक तथा काव्य उत्सवमा देशका विभिन्न जिल्लाका सर्जक तथा साहित्य प्रेमी सहभागी भएका थिए ।

सिद्धिचरण संग्रहालय समिति र सर्जक चौतारी ओखलढुंगाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति, सिद्धिचरण नगरपालिका, ओखलढुंगा साहित्य प्रतिष्ठान तथा ओखलढुंगा सामुदायिक सिकाइ केन्द्रले सह–आयोजनाको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका उपमेयर केदाबाबु बस्नेतले युगकवि श्रेष्ठले नेपाली कवितालाई नयाँ चेतना र क्रान्तिकारी धारमा अघि बढाएको स्मरण गरे । उनले “मेरो प्यारो ओखलढुंगा” कवितामार्फत जन्मभूमिलाई विश्वसामु चिनाउन सफल भएको उल्लेख गर्दै श्रेष्ठका रचनाले सामाजिक चेतना, प्रेम, विद्रोह र राष्ट्रिय भावनालाई सशक्त रूपमा अभिव्यक्त गरेको बताए ।

कार्यक्रममा वक्ताहरूले युगकविको साहित्यिक योगदानको चर्चा गर्दै ओखलढुंगालाई साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राखेका थिए । जन्मजयन्तीका अवसरमा आयोजित कविता उत्सवमा चक्र गुरुङ, हेमन यात्री र सबिता फागो लगायतका सर्जकले आफ्ना सिर्जना वाचन गरेका थिए ।

प्रतियोगितामा झापा दमकका विवेक दुलाल क्षेत्री प्रथम, झापाकै निकेश डाँगी द्वितीय तथा काभ्रेपलाञ्चोकका प्रताप चौलागाईं तृतीय भएका छन् । विजेताहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

सर्जक चौतारी ओखलढुंगाका अध्यक्ष विरेन्द्र ग्याबा तामाङका अनुसार प्रतियोगितामा प्रस्तुत कविता तथा कार्यक्रममा वाचन गरिएका सिर्जनाहरूमा युगकवि सिद्धिचरणप्रतिको सम्मान र स्मरण अभिव्यक्त गरिएको थियो ।

युगकवि श्रेष्ठको जन्मभूमिलाई साहित्यिक पर्यटकीय नगरका रूपमा विकास गर्ने उद्देश्यले ओखलढुंगा सदरमुकाममा ‘श्रष्टापार्क’ निर्माण गरिएको छ । सगरमाथाको प्रवेशद्वारका रूपमा परिचित ओखलढुंगामा सोलुखुम्बु र खोटाङको हलेसी भ्रमणमा आउने पर्यटकहरूको आकर्षण श्रष्टापार्कतर्फ समेत बढ्दै गएको सरोकारवालाले बताएका छन् ।

जन्मजयन्तीको अवसरमा युगकवि श्रेष्ठको पूर्णकदको शालिकमा माल्यार्पण समेत गरिएको थियो ।