लिब्जु–भुम्जु पुरस्कार ऋषि र कमललाई प्रदान गरिने

भिजन समाचार
36
Shares

काठमाडाैं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८२ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि ऋषिबहादुर राई र कमल किरातीलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ ।

वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा वर्षभरि प्रकाशित कवितामध्ये उत्कृष्ट रचनालाई प्रदान गरिने उक्त पुरस्कार यस वर्ष दुई कविलाई संयुक्त रूपमा दिने निर्णय गरिएको हो । कोशकार अविनाथ राईको संयोजकत्वमा गठित छनोट समितिले उनीहरूको कविता उत्कृष्ट ठहर गर्दै पुरस्कारका लागि छनोट गरेको जनाएको छ ।

समितिका अनुसार ‘इक लिब्जु–भुम्जु’ पूर्णाङ्क २८ (१०१औं शृंखला) मा प्रकाशित ऋषिको ‘लाम’ (बाटो) र पूर्णाङ्क ३१ (१०४औं शृंखला) मा प्रकाशित कमलको ‘कवि कावा’ (कवि साथी) शीर्षक कविता पुरस्कृत हुनेछन् ।

उदयपुरको कटारी–३ च्याँगामा जन्मिएका ऋषिबहादुर राई ‘अज्ञात ऋषि’ नामले परिचित छन् । उनको ‘लाम’ कविताले गाउँको साँघुरो बाटोदेखि आजको वैदेशिक रोजगारीसम्मको सामाजिक परिवर्तनलाई चित्रण गरेको छ । पहिले गाउँबाट बाहिर गएका मानिस चाँडै फर्किने परम्परा रहे पनि अहिले फराकिलो बाटोले युवालाई विदेश पुर्‍याएको र गाउँ खाली बन्दै गएको पीडा कवितामा व्यक्त गरिएको छ ।

त्यसैगरी ओखलढुंगाको मानेभञ्ज्याङ–३ सिम्काकुमा जन्मिएका कमलकुमार राई (कमल किराती) साहित्यका साथै कृषि तथा पशुपालनमा सक्रिय छन् ।

उनको ‘कवि कावा’ कविताले गाउँको मौलिकता, संस्कृति र जीवनशैलीलाई साहित्यमा समेट्नुपर्ने सन्देश दिएको छ । गाउँ छोडेर सहर पुगेपछि पनि कवितामा गाउँको आत्मा जीवित रहनुपर्ने धारणा कवितामा प्रस्तुत गरिएको छ ।

नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले स्थापना गरेको यो पुरस्कारबाट हालसम्म २५ जना कवि सम्मानित भइसकेका छन् । पुरस्कारको राशि जनही पाँच हजार रुपैयाँ र सम्मानपत्र रहेको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाका सम्पादक गणेश राईले बताए ।

उक्त पुरस्कार आगामी २०८३ मंसिर २० गते ओखलढुंगाको मानेभञ्ज्याङ–२ वाक्सा गाउँमा आयोजना हुने २७औं वाम्बुले राई भाषा कविता गोष्ठीमा प्रदान गरिने आयोजकले जनाएको छ ।