काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्र लगायतका विधामा योगदान पुर्याएका १९ जना विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार–२०८२ समर्पण गरेको छ ।
बिहीबार प्रतिष्ठानमा आयोजित समारोहको उद्घाटन कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा पुरस्कृत स्रष्टाहरूलाई पुष्पमाला अर्पण नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान का कुलपति नारदमणि हार्तमछालीले गरेका थिए ।
यस वर्ष प्रज्ञा पुरस्कार अन्तर्गत जनही एक लाख रुपैयाँका दरले १२ जना स्रष्टा सम्मानित भएका छन् । साथै, पहिलोपटक स्थापना गरिएको प्रज्ञा प्रादेशिक पुरस्कार अन्तर्गत ७ जनालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रज्ञा पुरस्कार–२०८२ अन्तर्गत समालोचनातर्फ अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्यतर्फ आहुति, भाषातर्फ मुकुन्दशरण उपाध्याय, समाजशास्त्रतर्फ डम्बर चेम्जोङ, पद्यतर्फ शैलेन्द्र साकार र संस्कृतितर्फ सोमप्रसाद खतिवडा सम्मानित भएका छन् ।
त्यसैगरी बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई, मातृभाषा (हिमाली–पहाडी)तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश–तराई)तर्फ अमरेन्द्रकुमार यादव लाई पुरस्कार प्रदान गरिएको छ ।
प्रज्ञा प्रादेशिक पुरस्कारतर्फ कोशी प्रदेशबाट मलिसा याक्थुम्बा लिम्बु, मधेशबाट मुना चौधरी, बागमतीबाट शान्तिप्रिय बन्दना, गण्डकीबाट अनिल श्रेष्ठ, लुम्बिनीबाट क्षितिज मगर, कर्णालीबाट रमानन्द आचार्य र सुदूरपश्चिमबाट कर्ण दयाल सोडारी सम्मानित भएका छन् ।
कार्यक्रममा बोल्दै कुलपति राईले भाषा, साहित्य, संस्कृति र समाजशास्त्रका विविध आयाममा योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । कार्यक्रममा अन्य पुरस्कृत स्रष्टा तथा प्राज्ञहरूले समेत मन्तव्य राखेकाे प्राज्ञ चेतनाथ धमलाले जानकारी दिए ।

प्रतिक्रिया