एसईईमा उत्कृष्ट दश छात्रालाई खिजीदेम्बाले निःशुल्क उच्च शिक्षा पढाउने

भिजन समाचार
78
Shares

ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुने १० जना छात्रालाई कक्षा ११ र १२ सम्म निःशुल्क अध्ययन गराउने भएको छ ।

ग्रामीण क्षेत्रका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर परिवारका छात्राहरूलाई उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य सहित गाउँपालिकाले विशेष छात्रवृत्ति कार्यक्रम सुरु गर्न लागेको हो ।

गाउँपालिका र सोवर्स एक्सन नेपाल बीच दुई वर्षका लागि भएको सहमति अनुसार छनोटमा पर्ने छात्राहरूले आफूले रोजेको विषय अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पा ले जानकारी दिए ।

उनका अनुसार आर्थिक अभावकै कारण एसईईपछि धेरै छात्राहरूले अध्ययन छाड्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । “ग्रामीण भेगका प्रतिभावान छात्राहरू आर्थिक समस्याका कारण उच्च शिक्षा लिनबाट वञ्चित नहून् भन्ने हाम्रो प्रयास हो,” अध्यक्ष शेर्पाले बताए ।

छात्राहरूको विद्यालय शुल्क, पोशाक, स्टेशनरी तथा अन्य शैक्षिक सामग्रीको खर्च गाउँपालिकाले व्यहोर्नेछ । त्यसैगरी बसोबास, खानपान, स्वास्थ्य उपचार, ट्युसन तथा दैनिक व्यवस्थापन सम्बन्धी खर्च सोवर्स एक्सन नेपालले बेहोर्ने जनाइएको छ ।

यसरी छनोटमा पर्ने छात्राहरूले कक्षा ११ र १२ सम्मको सम्पूर्ण अध्ययन निःशुल्क रूपमा गर्न पाउनेछन् । गाउँपालिकाले यो कार्यक्रमले छात्राहरूलाई उच्च शिक्षातर्फ आकर्षित गर्नुका साथै विद्यालय शिक्षा पूरा गरेपछि अध्ययन छाड्ने प्रवृत्ति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

विशेषगरी ग्रामीण भेगका छात्राहरूलाई गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्य कार्यक्रमको रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले छात्रवृत्ति सम्बन्धी विस्तृत सूचना चाँडै सार्वजनिक गरिने जनाएको छ । सूचना अनुसार आवश्यक मापदण्ड पूरा गरेका तथा एसईईमा उत्कृष्ट अंक ल्याएका छात्राहरू छनोट गरिनेछन् ।

गाउँपालिकाले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र छात्राहरूको शैक्षिक सशक्तीकरणका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।