करोडौं खर्चिँदा पनि मानेभञ्ज्याङको एसईई नतिजा कमजोर

भिजन समाचार
148
Shares
तस्वीर: एआइ

ओखलढुंगा । शिक्षा क्षेत्रमा ठूलो लगानी हुँदाहुँदै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको नतिजा कमजोर आएको छ । नतिजा सार्वजनिक भएसँगै गाउँपालिकाको शैक्षिक अवस्था र शिक्षा नीतिमाथि गम्भीर प्रश्न उठेको छ ।

गाउँपालिकाभित्रका आठ माध्यमिक विद्यालयको समग्र उत्तीर्ण प्रतिशत जम्मा ५१ दशमलव १६ मा सीमित भएको माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजाले देखाएको छ । एसईई परीक्षामा सहभागी ३०३ विद्यार्थीमध्ये १५५ जना उत्तीर्ण र १४८ जना अनुत्तीर्ण भएका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाले शिक्षा क्षेत्रमा करिब १९ करोड ९ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको थियो, जुन कुल बजेटको ३६ प्रतिशत हो । शिक्षक तलब, भवन निर्माण, छात्रवृत्ति, सूचना प्रविधि, दिवा खाजा र शिक्षक व्यवस्थापनमा ठूलो बजेट खर्च भए पनि त्यसअनुसार नतिजा आउन नसकेको भन्दै अहिले स्थानीय स्तरमै व्यापक आलोचना र बहस सुरु भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका आर्थिक वर्ष २०८२/८३ शिक्षा बजेटको खर्च संरचना (कुल शिक्षा बजेट: रु. १९,०९,७७,०००)

संघीय सरकारबाट हस्तान्तरित सशर्त अनुदान (शिक्षक तलब-भत्ता आदि) रु. १६,८२,५६,०००  | ८८.११%

गाउँपालिका शिक्षा शाखा (बालविकास, स्वयंसेवक शिक्षक, छात्रवृत्ति, शैक्षिक मेला) रु. २,०५,४०,००० | १०.७६%

वडास्तरीय योजनाहरू (शिक्षा उप-क्षेत्र) रु. १२,१३,००० | ०.६४%

प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदान रु. ९,६८,००० | ०.५१%

कुल शिक्षा बजेट: रु. १९,०९,७७,०००

कुल गाउँपालिका बजेट: रु. ५३,०९,०४,०००

शिक्षा क्षेत्रमा विनियोजन: ३५.९७%

गाउँपालिकाभित्रका केही विद्यालयको नतिजा अत्यन्त कमजोर देखिएको छ । महादेवस्थान माध्यमिक विद्यालय, हिलेपानीमा २६ जना सहभागीमध्ये २ जना मात्र उत्तीर्ण भएका छन् । राज्यलक्ष्मी माध्यमिक विद्यालयमा २९ जना सहभागीमध्ये ७ जना मात्र उत्तीर्ण भएका छन्, जहाँ विद्यालयको उत्तीर्ण प्रतिशत २४ दशमलव १४ मात्रै रहेको छ भने २२ जना अनुत्तीर्ण भएका छन् । उक्त विद्यालयका प्रधानाध्यापक शिक्षक महासंघका नेता रमेश अधिकारी हुन् ।

यस्तै मनकामना माध्यमिक विद्यालय, वाक्सामा २१ सहभागीमध्ये ६ जना मात्र उत्तीर्ण भएका छन् र विद्यालयको उत्तीर्ण प्रतिशत २८ दशमलव ५७ रहेको छ । यता निकेत माध्यमिक विद्यालय, माधवपुरमा सहभागी २६ मध्ये ३ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्, जुन करिब १२ प्रतिशत मात्र हुन आउँछ ।

अन्य विद्यालयहरूको नतिजा पनि अपेक्षाअनुसार आउन सकेको छैन । गाउँपालिकाभित्रका केही विद्यालयमा आधाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । यसले विद्यालयहरूबीच ठूलो शैक्षिक असमानता देखिएको शिक्षा क्षेत्रका जानकारहरूको भनाइ छ । शिक्षकको लगनशीलता, प्रभावकारी शैक्षिक अनुगमनको अभाव, अतिरिक्त कक्षाको कमजोर प्रभावकारिता र विद्यार्थीको आधारभूत सिकाइ स्तर खस्कँदै जानु कमजोर नतिजाको प्रमुख कारण भएको स्थानीय अभिभावकहरूको आरोप छ ।

यद्यपि, केही विद्यालयले भने राम्रो नतिजा ल्याएका छन् । कालिका माध्यमिक विद्यालय, मोलीले ३१ मध्ये २९ जना उत्तीर्ण गराउँदै ९३ दशमलव ५५ प्रतिशत नतिजा निकालेको छ । सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको भगवती माध्यमिक विद्यालयबाट ८६ जनामध्ये ७८ जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ९० दशमलव ७० रहेको छ ।

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले नतिजाप्रति गाउँपालिका गम्भीर रहेको बताएका छन् । उनका अनुसार नतिजा कमजोर आएसँगै प्रधानाध्यापक, शिक्षक र सरोकारवालासँग समीक्षा सुरु गरिएको छ । “यसपटकको नतिजाले हामीलाई सोच्न बाध्य बनाएको छ । कहाँ कमजोरी भयो भन्ने विषयमा समीक्षा भइरहेको छ,” उनले भने ।

विद्यालयमा नियमित अनुगमन, शिक्षकको जवाफदेहिता, सिकाइ मूल्यांकन र अभिभावकको सक्रिय सहभागिता बलियो नबनाएसम्म नतिजा सुधार गर्न कठिन हुने स्थानीयको धारणा छ । लगानीभन्दा परिणाम देखिनुपर्छ भन्ने दबाब गाउँपालिकामाथि बढ्दै गएको छ ।