ओखलढुंगाको मोलुङ गाउँपालिका विरुद्ध हेलो सरकारमा उजुरी

सरकारी विद्यालयलाई बेवास्ता गर्दै बोर्डिङलाई कक्षाथप अनुमति दिँदा आर्थिक चलखेलकाे आरोप

भिजन समाचार
962
Shares

ओखलढुंगा । मोलुङ गाउँपालिका विरुद्ध हेलो सरकारमा उजुरी परेको छ । मोलुङ गाउँपालिका–६ भालुम्कास्थित कालिका उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बहादुर कटुवालले गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति अध्यक्ष उत्तम कुमार राई, शिक्षा शाखा प्रमुख सरस्वती पौडेल र मोलुङ–६ स्थित चम्पादेवी बोर्डिङ स्कुलविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा सरकारी विद्यालयलाई कमजोर बनाउने उद्देश्यले निजी बोर्डिङ स्कुललाई गैरकानुनी रूपमा कक्षा सञ्चालनको अनुमति दिएको आरोप लगाइएको छ। पत्र अनुसार, २०१८ सालदेखि सञ्चालनमा रहेको कालिका उच्च मावि हाल उच्च माध्यमिक तहसम्म सञ्चालनमा रहेको र आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति भएको नमुना विद्यालयका रूपमा रहेको उल्लेख गरिएको छ ।

उजुरीकर्ताले गाउँपालिकाले सरकारी विद्यालयको हितविपरीत आर्थिक चलखेल गरेर निजी बोर्डिङ स्कुललाई अपग्रेड कक्षा सञ्चालन गर्न अनुमति दिएको दाबी गरेका छन्। यसले कालिका उच्च मावि, जेसे मावि मोलुङ–७ तथा शिवदुती मावि मोलुङ–५ लगायतका सरकारी विद्यालयमा नकारात्मक असर परेको आरोप पनि पत्रमा उल्लेख छ ।

उजुरीमा निजी विद्यालयलाई प्राथमिकता दिँदा सरकारी विद्यालयका विद्यार्थी संख्या घट्ने, न्यून आय भएका परिवारका बालबालिकाको शिक्षामा असर पर्ने तथा राज्यको लगानी खेर जाने अवस्था सिर्जना भएको उल्लेख  छ ।

उजुरीकर्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत उक्त बोर्डिङ स्कुलको अपग्रेड प्रक्रिया तत्काल रोक्न, घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

उक्त उजुरीको बोधार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौंमा समेत पठाइएको छ ।