बजार अनुगमनमा १८ हजार बढीका अखाद्य सामग्री बरामद


ओखलढुंगा । जिल्ला सदरमुकाम क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १८ हजार रुपैयाँ भन्दा बढीका म्याद गुज्रिएका अखाद्य सामग्री फेला परेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको नेतृत्वमा सिद्धिचरण नगरपालिका–११ र १२ का विभिन्न बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा १८ हजार १ सय ३५ रुपैयाँ बराबरका म्याद सकिएका सामग्री जफत गरी नष्ट गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोजकुमार मगरको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, सिद्धिचरण नगरपालिका, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, सुरक्षा निकाय तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

टोलीले हुलाकडाँडा, भैरवटोल र गणेशटोल क्षेत्रमा रहेका ९ वटा होटल तथा पसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा बिस्कुट, धनियाँ, मसला, मिठाई तथा चिसो पेय पदार्थ लगायतका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको प्रशासकीय अधिकृत मगरले जानकारी दिए ।

व्यापारीहरूले मनपरी मूल्य लिने, म्याद सकिएका वस्तु बिक्री गर्ने लगायतका गुनासो बढेपछि बजार अनुगमनलाई थप सक्रिय बनाइएको प्रशासनले जनाएको छ ।

प्रशासनले म्याद गुज्रिएका खाद्य वस्तुको सेवनले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उपभोक्तालाई गुणस्तरीय र म्यादभित्रका सामग्री मात्र खरिद गर्न आग्रह गरेको छ । साथै व्यापारीलाई पनि म्याद सकिएका वस्तु बिक्री नगर्न सचेत गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अब अनुगमन सदरमुकाम र मुख्य बजार क्षेत्रमा मात्र सीमित नराखी डिलर तथा ग्रामीण क्षेत्रका पसलहरूमा समेत विस्तार गरिनेछ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका वस्तु बिक्री गर्ने, मूल्यसूची नराख्ने तथा दर्ता वा नवीकरण नगरेका पसललाई कानुन अनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।