खिजीदेम्बा ६ मा १५१ को नि:शुल्क आँखा जाँच, १८ जनामा मोतिबिन्दु पहिचान

भिजन समाचार
14
Shares

ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकाले ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरेको निःशुल्क आँखा जाँच तथा उपचार अभियान प्रभावकारी बन्दै गएको छ । गाउँ–गाउँमै पुगेर नागरिकको स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पालिकाले सबै वडामा क्रमशः आँखा शिविर सञ्चालन गरिरहेको छ।

यसै अभियान अन्तर्गत सोमबार वडा नम्बर ६ बन्सेमा सञ्चालन गरिएको आँखा शिविरबाट १५१ जना सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा सहभागीमध्ये १८ जनामा मोतिबिन्दु पहिचान गरिएको स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद गौतमले जानकारी दिए ।

पहिचान भएका बिरामीलाई थप उपचारका लागि पालिकास्तरमै सञ्चालन हुने निःशुल्क शल्यक्रिया शिविरमा समावेश गरिने तयारी गरिएको छ।

त्यसैगरी, शिविरकै क्रममा ५३ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने अन्य बिरामीलाई आवश्यक औषधि, परामर्श तथा सामान्य उपचार सेवा प्रदान गरिएको थियो । गाउँमै स्वास्थ्यकर्मी पुगेर सेवा दिँदा समय, खर्च र यात्राको झन्झटबाट बच्न पाएको भन्दै स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन् । यसप्रकारका शिविर अन्य वडामामा पनि सञ्चालन हुने भएकोले सेवा लिन गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आग्रह गरे ।

वडा अध्यक्ष पासाङ ङिमा शेर्पाले यस्ता कार्यक्रमले विशेषगरी वृद्धवृद्धा तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई ठूलो राहत पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर रूपमा स्वास्थ्यसम्बन्धी शिविरहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार समयमै आँखा जाँच तथा उपचार हुन नसक्दा धेरै नागरिकले समस्या भोग्दै आएकामा अहिले भने गाउँमै सेवा उपलब्ध हुँदा अन्धोपनाको जोखिम समेत कम हुने अपेक्षा गरिएको छ।

पालिकाले अन्धोपनाको प्रमुख कारण मानिने मोतिबिन्दुको समयमै पहिचान र उपचारमार्फत नागरिकलाई दीर्घकालीन स्वास्थ्य लाभ पुर्‍याउने लक्ष्य लिएको छ।

यस अभियान अन्तर्गत सबै वडामा यस्तै प्रकारका शिविर सञ्चालन गरिने र आवश्यक परेका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने योजना रहेको गाउँपालिकाले जनाएको छ ।