ओखलढुंगा । युगकवि सिद्धिचरण श्रेष्ठ को जन्मस्थल रहेको सिद्धिचरण नगरपालिका–१२ स्थित प्रतिमा स्थल तथा सिद्धिचरण पार्कलाई व्यवस्थित र पर्यटकमैत्री बनाउने पहल अघि बढाइएको छ ।
नगर प्रमुख तेजन खनालले शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौंका महानिर्देशक रवीन्द्र बोहरा सँग भेट गरी उक्त क्षेत्रको समग्र विकासका लागि पाँच करोड रुपैयाँ बजेट माग गरेका छन् ।
नगरपालिकाले प्रतिमा स्थललाई केवल स्मारकमा सीमित नराखी व्यवस्थित, आकर्षक तथा दिगो साहित्यिक–सांस्कृतिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ । यस अन्तर्गत क्षेत्रको सौन्दर्यकरण, हरियाली प्रवर्द्धन, आधुनिक पूर्वाधार निर्माण तथा पर्यटकमैत्री संरचना विकास गर्ने योजना रहेको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली आधुनिक साहित्यका अग्रणी व्यक्तित्व, सामाजिक रूपान्तरणका संवाहक र राष्ट्रप्रेमका प्रतीकका रूपमा परिचित छन् । उनको जीवन, विचार र साहित्यिक योगदानलाई भावी पुस्तासम्म पु¥याउन सो क्षेत्रलाई ‘जीवित साहित्यिक स्मारक’का रूपमा विकास गर्न आवश्यक देखिएको नगर प्रमुख खनालले बताए ।
महानिर्देशक बोहराले सिफारिस पत्र ग्रहण गर्दै प्रतिमा स्थललाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया