मानेभन्ज्याङमा कानून निर्माण प्रक्रियाबारे अन्तरक्रिया

भिजन समाचार
54
Shares

ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार कोशी प्रदेश सभा सचिवालय विराटनगरको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेश सभा तथा सचिवालयको वर्तमान संरचना, कार्यसम्पादनको अवस्था र ऐन–कानुन निर्माणका विभिन्न चरणबारे प्रस्तुतिकरण मार्फत जानकारी गराइएको थियो । सहभागीहरूलाई स्थानीय तहमा कानून निर्माण गर्दा अपनाउनुपर्ने प्रक्रिया र कार्यान्वयनका व्यवहारिक पक्षबारे समेत अवगत गराइएको थियो ।

गाउँपालिकाका उजुरी प्रशासक सुकुधन राईले पालिकाले हालसम्म निर्माण गरेका ऐन, नियम, कार्यविधि तथा मापदण्डबारे जानकारी गराउँदै १३ वटा ऐन निर्माण भइसकेको बताए । अन्तरक्रियामा ती ऐन, नियम तथा कार्यविधि कार्यान्वयनका क्रममा देखिएका चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो ।

कार्यक्रमका क्रममा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली र उप–प्रमुख आश्राचन राईले संघ र प्रदेशका कानुनसँग बाझिने गरी निर्माण गरिएका ऐन तथा नियम खारेज हुने व्यवस्थाले स्थानीय सरकार कमजोर बन्ने धारणा व्यक्त गरे । उनीहरूले संविधानसँग नबाझिने गरी कानून निर्माण गर्न सके विकास निर्माण लगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए ।

छलफलमा उठेका विषयहरूबारे प्रदेश सभामुख अम्बर बहादुर बिष्टले स्थानीय तहलाई थप सबल बनाउन प्रदेशस्तरमा आवश्यक ऐन–कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी गराए । कार्यक्रममा उपसभामुख सृजना दनुवारसहित गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।