ओखलढुंगा । जिल्लाका तीन स्थानीय तहले संघीय सरकारको निर्धारित मितिभन्दा अघि नै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानसँगै पठनपाठन सुरु गरेका छन् । चिशंखुगढी, लिखु र खिजिदेम्बा गाउँपालिकाले शैक्षिक योजना समयमै सम्पन्न गर्न सहज हुने निष्कर्षसहित अग्रिम रूपमा भर्ना तथा अध्ययन–अध्यापन थाल्ने निर्णय गरेका हुन् ।
चिशंखुगढी गाउँपालिकाले वैशाख ५ गतेदेखि नै भर्ना अभियानसँगै कक्षा सञ्चालन सुरु गरिसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिहाङ लिम्बुका अनुसार संघीय सरकारको तोकिएको समयअनुसार मात्रै पठनपाठन सुरु गर्दा वार्षिक शैक्षिक योजना पूरा गर्न कठिनाइ हुने सरोकारवालाको सुझावपछि अग्रिम रूपमा कक्षा सञ्चालन गरिएको हो ।
त्यस्तै खिजिदेम्बा गाउँपालिकाले वैशाख ६ गतेदेखि विद्यार्थी भर्ना सुरु गरिसकेको छ भने वैशाख १५ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाका अनुसार शैक्षिक गतिविधि प्रभावित हुन नदिन समय अगावै भर्ना अभियान थालिएको हो ।
यस्तै लिखु गाउँपालिकाले पनि शिक्षक, अभिभावक तथा सरोकारवालाको सुझावका आधारमा वैशाख १४ गतेदेखि भर्ना तथा पठनपाठन सुरु गर्ने जनाएको छ । शिक्षा शाखा प्रमुख रचना मैनालीले शैक्षिक सत्रलाई व्यवस्थित बनाउन अग्रिम निर्णय गरिएको जानकारी दिइन् ।
यसैबीच जिल्लाका अन्य पालिका—मोलुङ गाउँपालिका, सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ गाउँपालिका, चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिकाले भने संघीय सरकारको निर्देशनअनुसार नै वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्ने जनाएका छन् । सरकारले देशभर वैशाख १५ गतेबाट भर्ना अभियान र २१ गतेबाट नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि ओखलढुंगाका तीन पालिकाले स्थानीय आवश्यकता अनुसार समय अगावै शैक्षिक गतिविधि अघि बढाएका हुन् ।

प्रतिक्रिया