ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिकामा कालाजार विरुद्ध सक्रिय खोज तथा परीक्षण अभियान सुरु गरिएको छ । जोखिमयुक्त बस्तीलाई लक्षित गर्दै स्वास्थ्यकर्मीहरू घर–घरमै पुगेर परीक्षण गर्न थालेका हुन् ।
गाउँपालिकाका वडा नं. २, ३, ५, ६ र ७ अन्तर्गत नदी–खोला आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ । विशेषगरी कालाजार पुष्टि भएका बिरामीका परिवार तथा नजिकका समुदायलाई लक्षित गरेर परीक्षण भइरहेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का विशेषज्ञ टोलीले प्रत्यक्ष घरदैलोमै पुगेर परीक्षण गरिरहेको छ । स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन राकेश कुमार पट्टेलका अनुसार हालसम्म १८ जनामा परीक्षण गरिएको भए पनि कसैमा पनि कालाजार पुष्टि भएको छैन ।
चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा ४ जनामा कालाजार संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जना सिद्धिचरण नगरपालिका–१ तलुवाका रहेका छन् भने अन्य संक्रमित मानेभञ्ज्याङ क्षेत्रकै हुन् ।
कालाजार, जसलाई Visceral Leishmaniasis पनि भनिन्छ, प्रोटोजोआ परजीवीबाट सर्ने गम्भीर सरुवा रोग हो। यो रोग विशेषगरी बालबालिका र कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा बढी देखिन्छ ।
स्वास्थ्यकर्मीका अनुसार समयमै पहिचान र उपचार गर्न सकेमा कालाजार नियन्त्रण सम्भव छ । त्यसैले जोखिमयुक्त क्षेत्रमा यस्ता सक्रिय खोज तथा परीक्षण अभियानलाई आगामी दिनमा अन्य पालिकामा समेत विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया