ओखलढुंगा । सिद्धिचरण नगरपालिकामा सञ्चालन गरिएको नसर्ने रोग परीक्षण अभियानले स्थानीय नागरिकको स्वास्थ्य अवस्थाबारे चिन्ताजनक चित्र सार्वजनिक गरेको छ । चैत १६ देखि ३० गतेसम्म स्वास्थ्य कार्यालय रुम्जाटार र नगरपालिकाको समन्वयमा गरिएको परीक्षणमा सहभागीमध्ये उल्लेख्य संख्यामा नागरिकमा जीवनशैलीसँग सम्बन्धित रोग देखिएका हुन् ।
४८८ जनामा गरिएको स्वास्थ्य परीक्षणमध्ये २२२ जनामा मोटोपनाको समस्या देखिएको छ । तीमध्ये ५१ जना अति मोटोपनाको अवस्थामा रहेको तथ्यले जोखिम अझ गम्भीर भएको संकेत गर्छ । त्यसैगरी १०४ जनामा उच्च रक्तचाप, ५१ जनामा मधुमेह र २३ जनामा मृगौला सम्बन्धी समस्या पहिचान भएको छ ।
जनस्वास्थ्य निरीक्षक नवराज बानियाका अनुसार पछिल्लो समय अस्वस्थकर खानपान, शारीरिक गतिविधिको कमी र अव्यवस्थित जीवनशैलीका कारण यस्ता समस्या तीव्र रूपमा बढ्दै गएका छन् । “पहिले उमेर ढल्केपछि देखिने रोग अहिले युवा समूहमा पनि देखिन थालेका छन्,” उनले भने, “समयमै सचेत नहुने हो भने अवस्था अझ जटिल बन्न सक्छ ।”
अभियानमा २१६ महिला र २७२ पुरुष सहभागी थिए । परीक्षणपछि समस्या देखिएका नागरिकलाई परामर्श दिइनुका साथै केहीलाई तत्काल उपचार सुरु गर्न सुझाव दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, दैनिक व्यायाम र तनाव व्यवस्थापनले यस्ता नसर्ने रोगको जोखिम घटाउन सकिन्छ ।
यो अभियानले स्थानीय तहमा नसर्ने रोगको बढ्दो चुनौती मात्र उजागर गरेको छैन, स्वास्थ्यप्रति लापरवाहीको अवस्था पनि देखाएको छ । समयमै जीवनशैली परिवर्तन नगर्ने हो भने आगामी दिनमा मुटुरोग, क्यान्सर र अन्य जटिल रोगको जोखिम अझ बढ्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया