ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना नगर्न तथा कुनै पनि प्रकारको शुल्क नलिन सबै विद्यालयलाई निर्देशन दिएको छ ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको परिपत्र मार्फत यस्तो निर्देशन दिइएको हो । नगरपालिकाका अनुसार गृह मन्त्रालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र र प्रचलित शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था रहेको छ ।
त्यसैगरी, भर्ना प्रक्रिया पूरा भएपछि मात्र स्वीकृत शीर्षक अनुसारको शुल्क लिन पाइने व्यवस्था भए पनि केही विद्यालयहरूले अग्रिम शुल्क असुल गर्ने, स्वीकृतभन्दा बढी शुल्क लिने, फरक शीर्षकमा शुल्क उठाउने तथा एउटै विद्यार्थीबाट पटक–पटक भर्ना शुल्क लिने जस्ता गुनासोहरू आएपछि यस्तो निर्देशन जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत भिष्मराज भट्टराईले जानकारी दिए ।
नगरपालिकाले यस्ता कार्यहरू प्रचलित कानुन विपरीत हुने भन्दै तत्काल रोक्न चेतावनी दिएको छ । नियम उल्लंघन गरी अग्रिम शुल्क लिएको पाइएमा उक्त रकम फिर्ता गराइने र सम्बन्धित विद्यालयलाई कानुनी कारबाही गरिने पत्रमा उल्लेख छ ।
यससँगै नगरपालिकाले संविधान तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी कानुन अनुसार माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गर्न, निर्देशनहरू समयमै कार्यान्वयन गर्न, शिक्षक तथा कर्मचारीलाई जानकारी गराउन, शैक्षिक सत्र २०८३ का कार्यक्रमहरू सम्बन्धित निकायको मार्गदर्शनअनुसार सञ्चालन गर्न तथा आवश्यक कागजात समयमै पेश गर्न सबै विद्यालयलाई आग्रह गरेको छ ।
नगरपालिकाले उक्त निर्देशनको कडाइका साथ पालना गर्न सबै विद्यालयलाई सचेत गराएको छ ।

प्रतिक्रिया