हलेसी तुवाचुङ नगरपालिका यस वर्षको उत्कृष्ट नगरपालिका घोषित

भिजन समाचार
28
Shares

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका यस वर्षको उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा नगरपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै ९० प्रतिशत अंक हासिल गरेको नेपाल नगरपालिका संघले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल्यांकनका आधारमा नगरपालिका र गाउँपालिकामध्येबाट उत्कृष्ट छनोट गरिएको हो ।

काठमाडौँमा बिहीबार आयोजित विशेष समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नगर प्रमुख विमला राईलाई सम्मान पत्र प्रदान गरेका थिए ।

नगरपालिकाको यस आर्थिक वर्षमा बेरुजु दर मात्र ०.१५ प्रतिशत रहेको छ, जसलाई सुशासन र वित्तीय अनुशासनको प्रमुख सूचकका रूपमा लिइएको छ ।

नगरपालिकामा ११ वटा वडा रहेका छन् । नगर प्रमुख राईका अनुसार सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन नगरपालिकाले कार्यालयमै धाउनुपर्ने अवस्थालाई घटाउँदै सेवा घरदैलोमै पु¥याउने नीति अपनाएको छ । उनले भनिन्, “हामीले सकेसम्म नागरिकलाई कार्यालयमा आउन नपरोस् भनेर आफैँ नागरिकको घरसम्म पुगेर सेवा दिइरहेका छौँ । सामाजिक सुरक्षा भत्ता टोलमै वितरण गर्छौँ, योजना सम्झौता गर्न पनि हाम्रो टोली गाउँमै पुग्छ ।”

त्यसैगरी, राष्ट्रिय परिचयपत्र वितरणलगायतका सेवा पनि वडास्तरमै पुगेर उपलब्ध गराइँदै आएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख राईले टिमवर्क, इमान्दारिता र वित्तीय अनुशासनकै कारण नगरपालिका सफल भएको बताउँदै कार्यान्वयन चुनौतीपूर्ण भए पनि निरन्तर सुधारमा जोड दिइरहेको उल्लेख गरिन् ।

यसअघि पनि हलेसी तुवाचुङ नगरपालिकाले सेवा प्रवाह र सुशासनका सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो ।