काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा फेरि ठूलो वृद्धि गरेको छ । भारतबाट बढेर आएको मूल्यका आधारमा निगमले बिहीबार नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँले वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य विभिन्न स्थानमा २१६ रुपैयाँ ५० पैसा देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य २०४ रुपैयाँ ५० पैसा देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ ।
यसैगरी, १४.२ केजी एलपी ग्यासको मूल्य बढेर २ हजार १० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) पनि प्रतिलिटर ६ रुपैयाँले महँगिएको निगमले जनाएको छ । नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।
मूल्यवृद्धिपछि पनि निगम अझै ठूलो घाटामा रहेको जनाएको छ । निगमका अनुसार हाल पनि पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको छ । घाटा बढ्दै गए इन्धन आपूर्तिमा असर पर्न सक्ने चेतावनी दिँदै निगमले उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा यसको प्रत्यक्ष असर नेपालमा देखिएको छ । इन्धन अभावको जोखिमका कारण सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयसमेत लागू गरिसकेको छ ।
यसअघि सरकारले चैत २४ गते मूल्यवृद्धि नियन्त्रण गर्न भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको थियो । तर अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भइरहँदा नेपालमा इन्धनको भाउ घट्न सकेको छैन ।

प्रतिक्रिया