काठमाडौं । निर्वाचन आयोगले आज आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः सुरु गरेको छ । गत ६ मङ्सिर २०८२ देखि स्थगित गरिएको प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको हो ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर (NIN) भएका नागरिकले अनलाइनमार्फतै आफ्नो विवरण प्रयोग गरी नाम दर्ता गर्न सक्नेछन् । राष्ट्रिय परिचयपत्र नभएकाहरूले भने प्रि-इनरोलमेन्ट प्रणालीमार्फत फाराम भर्नुपर्नेछ ।
अनलाइन फाराम भरेपछि आवेदकले फोटो तथा औँठाछापसहितको बायोमेट्रिक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
यसैगरी, मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु वा बसाइँसराइका विवरण अद्यावधिक गर्ने तथा मतदानस्थल परिवर्तन गर्नेसम्मका सेवा पनि अनलाइनबाटै उपलब्ध गराइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया