थुम्की–दुम्की सामुदायिक वनमा वृक्षारोपण

भिजन समाचार
88
Shares

ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिका–६ थुम्की–दुम्की सामुदायिक वन क्षेत्रमा सुख्खा तथा खाली जमिनमा वृक्षारोपण गरिएको छ । वन क्षेत्रको हरियाली प्रवर्द्धन तथा स्थानीय जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले १६ सयभन्दा बढी बिरुवा रोपिएको हो ।

करिब ४ हेक्टर क्षेत्रफलमध्ये २ हेक्टर जमिनमा ९०० बोट काभ्रोको स्टम्प रोपिएको छ भने बाँकी २ हेक्टर क्षेत्रमा ७०० बोट चिउरीका बिरुवा रोपिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार काभ्रो परम्परागत विधिअनुसार माघ–फागुन महिनामा करिब ५ फिट लम्बाइका नयाँ हाँगा काटेर रोपिने गरिन्छ । काभ्रो स्थानीय समुदायका लागि डालेघाँसको महत्वपूर्ण स्रोतका रूपमा रहेको छ । यसले सुख्खा क्षेत्रमा हरियाली बढाउनुका साथै पशुपालनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, चिउरी बहुउपयोगी वनस्पति भएकाले यसको महत्व अझ उच्च रहेको बताइएको छ । चिउरीबाट डालेघाँस प्राप्त हुनुका साथै मौरीपालनका लागि अत्यन्त उपयोगी मानिन्छ । यसको फल खाद्य रूपमा प्रयोग हुने र बीउबाट घ्यू उत्पादन गर्न सकिने स्थानीयले बताएका छन् ।

मानेभञ्ज्याङ सब डिभिजन वन कार्यालयका वन अधिकृत सजना पाण्डेले यस क्षेत्रलाई भविष्यमा चिउरीको बीउ उत्पादन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए ।

वृक्षारोपण गरिएको बिरुवाको संरक्षणका लागि बारबेरा लगाइएको छ भने वन हेरालुको समेत व्यवस्था गरिएको छ । डिभिजन वन कार्यालय ओखलढुंगा र सामुदायिक वन उपभोक्ता समूहको साझेदारीमा सञ्चालन गरिएको उक्त कार्यक्रमको अनुमानित लागत करिब ५ लाख ५० हजार रुपैयाँ रहेको जनाइएको छ ।