ओखलढुंगा । लिखु गाउँपालिकामा मानसिक स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले स्वास्थ्यकर्मीहरूका लागि पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ ।
आइतबार लिखु गाउँपालिका र ट्रान्सकल्चरल साइकोसोसियल अर्गनाइजेसन नेपाल (टीपीओ नेपाल) को संयुक्त आयोजनामा स्वास्थ्यकर्मी तथा प्रिस्क्राइबरहरूका लागि सुपरभिजन कार्यक्रमसहित तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रमका क्रममा २९ जना सेवाग्राहीहरूको मानसिक स्वास्थ्य परीक्षण गरिएको लिखु गाउँपालिकाका स्वास्थ्य संयोजक दिनानाथ चौधरीले जानकारी दिए । उनका अनुसार डा. उद्धव लामाले विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई मानसिक बिरामीलाई परामर्श दिने तरिका तथा उपचार प्रक्रियाबारे प्रशिक्षण दिएका थिए ।
तालिममा मानसिक बिरामीको औषधि व्यवस्थापन, उपचार प्रक्रियालाई प्रभावकारी बनाउने उपाय तथा सेवाप्रवाह सुधार गर्ने विषयमा पुनर्ताजगी गराइएको थियो । साथै, नयाँ पहिचान भएका बिरामीलाई समयमै उपचार र आवश्यक औषधि उपलब्ध गराउने लक्ष्य राखिएको जनाइएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले पछिल्लो समय मानसिक समस्याका कारण जिल्लामा आत्महत्यादर बढ्दै गएको उल्लेख गर्दै समयमै उचित परामर्श र उपचारको व्यवस्था गर्न सके अन्य रोगझैं मानसिक रोगबाट पनि ज्यान जोगाउन सकिने बताए ।
स्थानीय तहमै प्रभावकारी मानसिक स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ ।

प्रतिक्रिया