दुई हजार ६८ सवारी कारबाहीबाट २३ लाख बढी राजश्व संकलन


ओखलढुंगा । जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट आठ महिनामा २३ लाखभन्दा बढी राजश्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ६८ सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट २३ लाख ५९ हजार ६०१ रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

कार्यालयका अनुसार कारबाहीमा पर्ने सवारी साधनमध्ये सबैभन्दा बढी जीप तथा कार १ हजार १०५ वटा रहेका छन् । त्यस्तै मोटरसाइकल ४७३, ट्रक ३१६, बस ६९, ट्याक्टर ४३, टिपर ३१ र अटो ३१ वटा कारबाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन अन्तर्गत क्षमता भन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, सिटबेल्ट नबाध्ने, आवश्यक कागजपत्र साथमा नराख्ने, तीव्र गतिमा सवारी चलाउने तथा बढी भाडा लिने जस्ता गतिविधिमा संलग्न सवारी चालक तथा धनीलाई जरिवाना गरिएको जनाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक हवल्दार नारायण बहादुर बस्नेतका अनुसार यस्ता कारबाहीले सडक अनुशासन कायम गर्न सहयोग पुगेको छ ।

यसअघि गत आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ३४९ सवारी साधन कारबाहीमा परेका थिए । उक्त अवधिमा ५८ लाख २३ हजार २०५ रुपैयाँ राजश्व संकलन गरिएको थियो ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्राथमिकता दिँदै आगामी दिनमा पनि निगरानी र कारबाहीलाई अझ कडाइका साथ अघि बढाउने जनाएको छ ।