ओखलढुंगामा बैंकिङ कसुरमा ७ मुद्दा दर्ता

भिजन समाचार
316
Shares

ओखलढुंगामा बैंकिङ कसुरसम्बन्धी मुद्दा पछिल्ला वर्षहरूमा बढ्दो क्रममा रहेको देखिएको छ । आर्थिक कारोबारमा विश्वासघात, चेक बाउन्स तथा ऋण असुलीसम्बन्धी समस्या बढ्दै जाँदा यस्ता मुद्दा पनि वृद्धि भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्म ७ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका छन् । तीमध्ये फागुन महिनामा मात्रै ३ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वर अधिकारीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ वटा र आर्थिक वर्ष २०८०/८१ मा ५ वटा यस्ता मुद्दा दर्ता भएका थिए । उक्त तथ्यांकले पछिल्ला वर्षहरूमा बैंकिङ कसुरको प्रवृत्ति बढ्दो रहेको संकेत गरेको छ ।

प्रहरीका अनुसार चेक बाउन्स, साझेदारीका नाममा विश्वासघात, तथा सामान वा सेवा लिएर भुक्तानी नगर्ने जस्ता गतिविधि बैंकिङ कसुरअन्तर्गत पर्ने गरेका छन् ।

यस्ता अपराधबाट बच्न आर्थिक कारोबार गर्दा आवश्यक कागजी प्रक्रिया पूरा गर्ने, भरपर्दो व्यक्तिसँग मात्र कारोबार गर्ने र कानुनी प्रावधानबारे जानकारी राख्न प्रहरीले सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ। लापरवाही गर्दा कानुनी झन्झटमा पर्न सकिने भन्दै सचेत रहन पनि सुझाव दिइएको छ ।

प्रहरीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । पछिल्लो समय व्यावसायिक कारोबारमा कानुनी चेतनाको अभावका कारण यस्ता मुद्दा बढ्दै गएको प्रहरीको भनाइ छ ।