ओखलढुंगाकी मन्जिलाले जितिन् ‘बेस्ट चाइल्ड एक्टर–एन्करेजमेन्ट’ अवार्ड

भिजन समाचार
162
Shares

ओखलढुंगाकी बाल कलाकार मन्जिला बानियाले ‘बेस्ट चाइल्ड एक्टर–एन्करेजमेन्ट’ अवार्ड प्राप्त गरेकी छन् । नेपाली कथानक चलचित्र ‘सेतीदेवी’मा सशक्त अभिनय गरेबापत उनले चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड–२०८२ मा उक्त अवार्ड हात पारेकी हुन् ।

चलचित्र सेतीदेवीमा बाल भूमिकामा देखिएकी मन्जिलाले डेब्यु चलचित्रबाटै अवार्ड जित्दै आफ्नो अभिनय क्षमताको प्रमाण दिएकी छन् । उनी सिद्धिचरण नगरपालिका–९, जिमिरे निवासी जितेन्द्र बानियाँ र मिथिला बानियाँकी छोरी हुन् । पहिलो फिल्ममै सम्मानित भएपछि परिवारमा खुसी छाएको छ ।

काठमाडौँमा आयोजित समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड विजय बराल, उत्कृष्ट अभिनेत्रीको अवार्ड केकि अधिकारी तथा उत्कृष्ट गायिकाको अवार्ड अन्जु पन्त ले प्राप्त गरेका थिए । सोही कार्यक्रममा मन्जिलालाई पनि ‘बेस्ट चाइल्ड एक्टर–एन्करेजमेन्ट’ अवार्ड प्रदान गरिएको हो ।

मन्जिलाका बुबा जितेन्द्र बानियाँले पहिलो फिल्ममै प्राप्त सफलता उनका लागि उज्ज्वल भविष्यको संकेत भएको बताए । “डेब्यु फिल्मबाटै यस्तो सम्मान पाउनु गौरवको कुरा हो, यसले उनलाई अझै मेहनत गर्न प्रेरणा दिनेछ,” उनले भने ।

नारी प्रधान कथावस्तुमा आधारित ‘सेतीदेवी’मा अभिनेत्री मल्लिका महत केन्द्रीय भूमिकामा छिन् । फिल्ममा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता सिवाकोटी लगायत कलाकारको अभिनय रहेको छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी, क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको उक्त फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा तथा संवाद रहेको छ । गीत लेखनसमेत सुवेदीले नै गरेका हुन् । फिल्ममा दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।