ओखलढुंगा र पुर्वको परिवेशलाई समेटिएको पुर्वेली लोकगीत ‘गैदिउँ भागेर’ सार्वजनिक भएको छ । रंगपत्रकार भोला अधिकारीकोे शब्द रचना, रविन अधिकारीको लय, पुर्वेली गायक अर्जुन घिमिरे र बिन्दु परियारको स्वरमा रहेका ‘गैदिउँ भागेर’ बोलको पुर्वेली गीत सार्वजनिक भएको हो ।
ओखलढुंगाको विभिन्न पर्यटकीय ठाउँ, पोकली झरना, उदयपुर, सप्तकोशीदेखि धनकुटासम्मका सेरोफेरो गीतका शब्दमा समेटिएको छ । माया प्रेमका भावमा प्रकृति र ठाउँ विषेशलाई गीतको शब्दमा उल्लेख रहेका छन् ।
गीतको भिडियोमा गायक घिमिरे आफैले अभिनय गरेका छन् भने उनलाई अभिनयमा गीतु पराजुली र सन्तोष बराईलीले साथ दिएका छन् ।
गाएर जति चर्चा हुन्छ, भिडियोमा आएर अझ बढी चर्चा हुने र दर्शकको माग पनि त्यस्तै हुने भएकाले यसपटक अभिनय पनि गरेको गायक घिमिरेले बताए ।
केबी भण्डारीको एरेन्ज रहेको भिडियोमा दीपेश एसकेले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोलाई प्रेम लामाले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
यसअघि भोलाले सिर्जना गरेको गीत ‘पुर्वै मोरङको’,‘रुमाल फाटिगो’लगायत एक दर्जन गीत सार्वजनिक भएका छन् ।
त्यसै गरि गायक घिमिरेको ‘छेउमै पर्यो घर’,‘म त ड्राइभर दाई’, ‘ठान्यौँ सानी कच्चा’, ‘जिम्मलका छोरी’,‘मासु पाडाको’ लगायत आफ्ना र अरुमा गीतमा गरि २ सय हाराहारीमा स्वर भरिसकेका छन् ।
यस्तै गायिका बिन्दु परियार पछिल्लो समयकी चर्चित गायिका हुन् । ‘गैदिउ भागेर’ गीतको भिडियोलाई अर्जुन घिमिरे नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया