दोस्रो ओखलढुंगा महोत्सव सुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडिबुटीसहित समग्र उद्योग व्यवसायको प्रवद्र्धनका लागि दोस्रो ओखलढुंगा महोत्सव सञ्चालन गरिएको हो ।
ओखलढुंगा उद्योग वाणिज्य संघले ५ वर्षअघि पहिलो ओखलढुंगा महोत्सव आयोजना गरेको थियो । त्यसैको निरन्तरता स्वरुप आयोजना गरिएको दोस्रो ओखलढुंगा महोत्सवको आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उद्घाटन गरेका छन् ।
महोत्सव उद्घाटन गर्दै जिल्लाका सांसद समेत रहनुभएक सभापति खतिवडाले जिल्लाको समृद्धि र पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । सम्बोधनका क्रममा उनले बजेट बिना कुनै पनि योजना आयोजनाको शिलान्यास नगर्ने बताए । बजेट बिना नै शिलान्यास हुने आयोजनाहरु अलपत्र अवस्थामा पुगेकाले पहिले बजेट व्यवस्थापन गरेर मात्र शिलान्यास गर्ने उनको भनाई थियो । वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने नेता खतिवडाको भनाई थियो ।
कार्यक्रममा संविधानसभा सदस्य यज्ञराज सुनुवारले ओखलढुंगा जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको र यसलाई प्रवद्र्धन गरेर समृद्धिको आधारका रुपमा विकास गर्न सकिने बताए । मेला महोत्सव जस्त कार्यक्रमले पर्यटन विकासमा टेवा पुग्ने उनको भनाई थियो । आफु प्रतिनिधिसभाको सांसद हुँदा जिल्लामा पर्यटन विकासमा उल्लेख्य काम गरेको उनको दावी थियो ।
सदरमुकाममा सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिकसहितको सिचिरण पार्क निर्माण, श्रष्टापार्क तथा सर्जकहरुको प्रतिमास्थापना, थोलेदेम्बा र पोकली झरनालाई नेपालका सय गन्तव्य सूचिमा सुचिकृतलगायतका दर्जनौं साना ठुला पर्यटकीय क्षेत्र विकासका काम गरेको उनको भनाई थियो । ‘मेला महोत्सव जस्ता कार्यक्रमलाई केवल रमाइलो र औपचारिकतामा मात्रै सिमित राख्नुहुँदैन । यस्ता कार्यक्रम गाउँठाउँको विकास र जिल्लाको समृद्धिसँग जोड्न सक्नुपर्छ ।’ सुनुवारले भने, ‘थोलेदेम्बा र पोकली झरनामा महोत्सव आयोजन गरियो । त्यसपछि त्यहाँ पूर्वाधार विकास र प्रचार प्रसारले गति लियो । नेपालको सय गन्तव्य सूचिमै राखियो त्यसपछि पर्यटकको आवागमन बढ्यो ।’ सगरमाथाको प्रवेशद्धारमा पर्ने ओखलढुंगामा सोलुखुम्बु र हलेसी आउने पर्यटक पनि घुम्ने र रम्ने वातावरण बनाउनु पर्ने उनको भनाई थियो ।
दोस्रो ओखलढुंगा महोत्सवलाई जिल्लाका विभिन्न स्थानिय तहका प्रमुखहरुले समेत सम्बोधन गरेका थिए । गाउँपालिका प्रमुखहरुले आ आफ्नो पालिकाले पर्यटन विकासमा नीतिगत काम गरिरहेको बताए ।
दोस्रो ओखलढुंगा महोत्सव बैशाख १५ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको आकर्षणका रुपम दिनहुँ ख्यातीप्राप्त कलकारहरुको प्रस्तुती, जातीय समुुदयको झाँकी, स्थानीय उत्पादन र १५० भन्दा बढी स्टलहरु राखिएको छ । जिल्लाको विकास र पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए । पहिलो महोत्सवको समिक्षा गरेर थप परिस्कृत ढंगले दोस्रो महोत्सव सञ्चालन गरिने उनको भनाई छ ।
ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना तथा एआइके ग्रुप काठमाडौंको सह आयोजनामा महोत्सव सञ्चालन भएको हो ।
महोत्सव उद्घाटन सत्रमा गाउँ गाउँबाट सदरमुकाम आएर जातिय समुदायले झाँकी प्रदर्शन गरेका थिए । यद्यपी उपस्थिती न्यून थियो ।
विगतका महोत्सवहरुमा पनि कलाकारको प्रस्तुतिमा दर्शक बढी हुने र अतिथिको मन्तव्य सुन्नेको संख्या कम हुने गरेको थियो ।
महोत्सव स्थलमा प्रवेशका लागि विद्यार्थी र वृद्धवृद्धा बाहेक सबैलाई एक सय रुपैया टिकट तोकिएको छ । ५ वर्ष माथिका विद्यार्थीले परिचयपत्र र जेष्ठ नागरिकले वृद्धभत्ता कार्ड लिएर गएमा ३० प्रतिशत छुट दिइने छ ।
प्रतिक्रिया