प्रजातन्त्र दिवसको अवसरमा पर्यटकीय स्थल सरसफाई

भिजन समाचार
94
Shares

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ओखलढुंगा सदरमुकाममा सरसफाइ कार्यक्रम गरिएको छ । नेपाल सरकारले देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय अनुसार जिल्लामा पनि विविध कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति ओखलढुंगाको आयोजनामा भएको सरसफाइ कार्यक्रममा सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, निर्वाचन प्रहरी तथा नगरप्रहरीको सहभागिता रहेको थियो । कार्यक्रमअन्तर्गत सिद्धिचरण नगरपालिका–१२ स्थित सिद्धिचरण पार्कदेखि श्रष्टा पार्कसम्मको क्षेत्रमा सरसफाइ गरिएको हो ।

जहानिया राणा शासनको अन्त्य भई जनताले स्वतन्त्रता प्राप्त गरेको दिनको स्मरणमा “वातावरण स्वच्छ राखौं, स्वस्थ रहौं” भन्ने सन्देशका साथ कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति ओखलढुंगाकी उप–प्रमुख तारा कार्कीले जानकारी दिइन् ।

सरसफाइ कार्यक्रममा जिल्ला समन्वय समिति उप–प्रमुख तारा कार्कीसहित प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा बिहीबार साँझ सदरमुकाममा दीपावली कार्यक्रमसमेत गरिएको छ ।