ओखलढुंगा प्रहरी प्रमुख केसी कोशी प्रदेशकै उत्कृष्ट घोषित

भिजन समाचार
70
Shares

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीलाई माघ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेका अनुसार विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस र व्यावसायिक दक्षतासहित पदीय जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा डीएसपी केसीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

डीएसपी केसीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरेमा २०८२ साल माघ १३ गते ७४ वर्षीय चन्द्र विक्रम राई र ८० वर्षीया चन्द्रमाया राईको हत्या तथा लुटपाट प्रकरणको अनुसन्धानको नेतृत्व गरेका थिए । उक्त घटनामा कोदालो प्रहार गरी हत्या गरी सुनका गरगहना र नगद लुटपाट गरिएको थियो । अनुसन्धानका क्रममा संलग्न दुई जनालाई काठमाडौँ महानगरपालिका–१५ बाट लुटिएको सामानसहित माघ २३ गते पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।

यसैगरी, २०६७ साल असार २४ गते साविक भदौरे गाविस–२ मा ४३ वर्षीय छविलाल कार्कीको कर्तव्य गरी हत्या गरेर फरार रहेका प्रतिवादीलाई १५ वर्षपछि २०८२ साल माघ १७ गते पक्राउ गरिएको थियो । लामो समयदेखि फरार अभियुक्तलाई पक्राउ गर्न सफल हुनु अनुसन्धानको उल्लेखनीय उपलब्धि मानिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, २०८२ साल मंसिर २८ गते खिजिदेम्वा गाउँपालिका–९ मा एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको थियो ।

गम्भीर प्रकृतिका आपराधिक घटनाको अनुसन्धान, फरार अभियुक्त पक्राउ तथा जिल्लामा शान्ति–सुरक्षाको प्रत्याभूति गराउने कार्यमा देखाएको सक्रियता, नेतृत्व क्षमता र परिणाममुखी कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै डीएसपी केसीलाई माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उत्कृष्ट कार्यसम्पादनमार्फत आम नागरिकमा सुरक्षा निकायप्रति विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो ।