ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ ।
डिभिजन वन कार्यालय ओखलढुंगाले चाइनीज होओचेङ बायोटेक्नोलोजी प्रा.लि. नामक कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड तथा प्रचलित नेपाल कानून अनुसार प्रारम्भिक वातावरणीय परीक्षण लगायतका प्रमाणपत्र पेश नगरेको भन्दै सोमबार उद्योग सिल गरेको जनाएको छ ।
कार्यालयका अनुसार कम्पनीलाई आवश्यक कानुनी कागजात पेश गर्न पटक–पटक निर्देशन दिइएको थियो । तर सो निर्देशन पालना नगरेपछि कानुनअनुसार कारबाही गर्दै उद्योग बन्द गरिएको हो ।
डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख मनाराज राईका अनुसार कार्यालयमा प्राप्त केही कागजातको अध्ययनबाट नेपाल कानूनले प्रतिबन्धित गरेका जडीबुटीसमेत प्रशोधन गर्ने उद्देश्य राखिएको देखिएको छ । आवश्यक प्रक्रिया तथा मापदण्ड पूरा नभएसम्म कम्पनी सञ्चालन गर्न नदिने निर्णय गरिएको प्रमुख राईले बताए ।
उनका अनुसार कम्पनीले करिब एक वर्षअघि संरचना निर्माण गरी केही महिनादेखि जडीबुटी संकलन तथा प्रशोधनसम्बन्धी काम गर्दै आएको थियो । उद्योग दर्तासम्बन्धी प्रक्रिया केही पूरा भए पनि आवश्यक कानुनी अनुमति तथा वातावरणीय मापदण्ड नपुगेको पुष्टि भएपछि सिल गरिएको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयले कानूनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र उद्योग सञ्चालनका विषयमा पुनः निर्णय हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया