हत्या गरिएका राई दम्पत्तिको एक हप्तापछि दाहसंस्कार, हत्यारा पत्ता लागेन

भिजन समाचार
634
Shares

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा लुटपाटपछि विभत्स हत्या गरिएका वृद्ध दम्पत्ति चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको एक हप्तापछि अन्तिम संस्कार गरिएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेकै अवस्थामा पोस्टमार्टम तथा कानुनी प्रक्रिया पूरा गरी सोमबार दाहसंस्कार गरिएको हो । परिवारले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएको भए पनि, पोस्टमार्टमपछि लामो समय शव राख्न नमिल्ने कानुनी व्यवस्थाका कारण अस्पताल र परिवारबीचको सहमतिमा अन्त्येष्टि गरिएको वडा अध्यक्ष बलराम कटवालले जानकारी दिए ।

घटनापछि भदौरे क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनाको गहिरो अनुसन्धान भइरहेको बताउँदै विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

यसअघि करिब एक महिना अघि सोही क्षेत्रमा शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो । उक्त घटनामा संलग्न आरोपमा चार जना पक्राउ परेर अनुसन्धान भइरहेको अवस्थामा पुनः अर्को वृद्ध दम्पत्तिको हत्या भएपछि सुरक्षा चुनौती थपिएको स्थानीयले बताएका छन् ।

लगातार भएका हत्या घटनापछि राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाहरूले दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।