ख्यातीप्राप्त लेखक पासाङ नुरु शेर्पा सम्मानित हुनुभएको छ । नेपाल शेर्पा संघ संघीय कार्यसमितिले इलाममा आयोजित विशेष समारोहबीच अमेरिकामा विश्वस्तरीय अवार्ड प्राप्त गर्न सफल भएकोमा उहाँलाई सम्मान गरेको हो ।
सोलुखुम्बुमा जन्मनु भई हाल अमेरिका बस्दै आएका लेखक शेर्पालाई प्रदान गरिएको सम्मान–पत्र उनकी दिदी तथा प्रथम शेर्पा लेखक लाक्पा फुटी शेर्पाले ग्रहण गरेकी छिन । लेखक शेर्पाले अमेरिकन बुक फेस्टद्वारा आयोजना गरिएको विश्वकै ठूला अन्तर्राष्ट्रिय पुरस्कार कार्यक्रमको २२ औँ संस्करणमा आफ्नो कृति ‘Behind the Masks’ मार्फत West Book Award–2025 प्राप्त गरेका थिए ।
उक्त कृति मूलधार, स्वतन्त्र तथा स्व–प्रकाशित कृतिहरूमध्ये उत्कृष्ट मानिँदै छनोट भएको हो । शेर्पा समुदायलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल शेर्पा संघले सिंगो समुदायको तर्फबाट सम्मान–पत्र प्रदान गरेको छ ।
सम्मान–पत्र प्रदान गर्दै संघका संघीय कार्यसमिति अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले लेखक शेर्पाले आफ्नो सिर्जनात्मक कार्यबाट समुदायको शिर उच्च बनाएको भन्दै प्रशंसा गरे ।
लेखक शेर्पाको अर्को संस्मरणात्मक पुस्तक ‘कोरोना कथा’ ले कोभिड–१९ महामारीपछि अमेरिकी जनजीवन, नेपाली समाज र परिवेशको यथार्थ चित्रण गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा उच्च मान्यता पाउँदै विश्वकै ठूलो अवार्ड प्राप्त गरेको हो । यस उपलब्धिले सिंगो शेर्पा समुदाय र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको अध्यक्ष शेर्पाले बताए ।
नेपाल शेर्पा संघका महासचिव लाक्पा जी शेर्पाका अनुसार संघले लेखक शेर्पाको निरन्तर सिर्जनशीलता, नेपाली समाज तथा आफ्नै समुदायप्रतिको प्रेम र सहिष्णुताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने कामना समेत गरेको छ ।

प्रतिक्रिया