सामुदायिक सचेतनामा ओखलढुंगा प्रहरीको प्राथमिकता

भिजन समाचार
44
Shares


अपराध तथा दुर्घटना न्यूनीकरणका लागि ओखलढुंगा प्रहरीले सामुदायिक सचेतनालाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिरहेको छ । कानुनी अज्ञानताका कारण अपराधजन्य गतिविधि बढ्न सक्ने भन्दै प्रहरी समुदाय र विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

जिल्लाका आठवटै स्थानीय तहका बस्ती, समुदाय तथा विद्यालयमा पुगेर नागरिक लक्षित सचेतनामूलक अभियान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अपराध नियन्त्रण, लागुऔषध दुर्व्यसन, लैङ्गिक हिंसा, बालविवाह, आत्महत्या, साइबर अपराध, घरेलु हिंसा, सवारी दुर्घटना तथा सामाजिक कुरीति न्यूनीकरणका विषयमा मंसिर महिनामा मात्रै सयभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रनाउ केसीले बताए ।

प्रहरीले समुदाय र विद्यालयमा सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रम मार्फत चार हजार ७८६ जना नागरिक सुसूचित भएका छन् ।

यस्तै पछिल्लो समय निर्वाचनलाई लक्षित सुरक्षा व्यवस्था मजबुत बनाउन तथा अपराध र लागुऔषधका घटना न्यूनीकरणका लागि विभिन्न सम्भावित क्षेत्रमा प्रहरी गस्तीसमेत बढाइएको जिल्ला प्रहरी प्रमुख केसीको भनाइ छ ।

सचेतना अभिवृद्धि र नियमित प्रहरी गस्तीले अपराध तथा अपराधजन्य घटनामा कमी आउने विश्वास व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने जनाएको छ ।