नापी कार्यालय ओखलढुंगाले चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा १२ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा कुल १२ लाख १६ हजार ७४० रुपैयाँ राजश्व उठाइएको हो ।
कार्यालय प्रमुख सविन वि.के. का अनुसार सो अवधिमा फिल्ड रेखाङ्कनबाट सबैभन्दा बढी १० लाख ६० हजार १० रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, नक्सा बिक्रीबाट २ लाख १६ हजार ५३० रुपैयाँ र कित्ता एकीकरणबाट २०० रुपैयाँ राजश्व संकलन भएको छ ।
पाँच महिनामा ७६२ वटा नक्सा बिक्री भएका छन् भने कित्ताकाट सम्बन्धी ८० वटा कार्य सम्पन्न भएका छन् । तीमध्ये ४२ वटा राजीनामा, १२ वटा अंशबण्डा र २ वटा अदालतका निर्णय अनुसारका काम रहेका छन् ।
स्थानीय तहसँगको सहकार्यमा फिल्ड रेखाङ्कन कार्यमा अनिवार्य शुल्क लागू गरेपछि राजश्व संकलन उल्लेखनीय रूपमा बढेको कार्यालयले जनाएको छ । सेवा विस्तार र स्थानीय तहसँगको समन्वय नै राजश्व वृद्धिको प्रमुख कारण रहेको नापी कार्यालयको ठहर छ ।
कार्यालयले आगामी वर्षमा समेत यस्ता सहकार्यलाई निरन्तरता दिइए राजश्व संकलनमा थप प्रगति हुने अपेक्षा गरेको छ ।

प्रतिक्रिया