सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङका ५११ जनालाई वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । शुक्रबार नवनिर्मित वडा प्रशासनिक भवनको उद्घाटनको अवसर पारेर वडास्तरमै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।
सोलुदुधकुण्ड नगरपालिका र जिल्ला समन्वय समिति सोलुखुम्बुको लागत साझेदारीमा ग्रीन तारा कन्स्ट्रक्सन प्रा. लि. ले भ्याटसहित १ करोड १४ लाख ३० हजार ७५६ रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको हो । उद्घाटनसँगै नागरिकलाई आफ्नै वडाबाट प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय परिचयपत्र वितरण गरिएको वडा अध्यक्ष होम बहादुर मगरले बताए ।
वडा अध्यक्ष मगरका अनुसार प्रशासनिक सेवा विस्तार गर्ने तथा नागरिकको समय र खर्च बचत गर्ने लक्ष्यसहित वडास्तरमै सेवा प्रदान गरिएको हो । यसअघि जोखिमपूर्ण र साँघुरो भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेकामा अब सुविधा सम्पन्न भवनबाट नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाह हुने उनको भनाइ छ ।
नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले वडास्तरमै सेवा उपलब्ध गराउने प्राथमिकता नगरपालिकाले राखेको बताउँदै यसले नागरिकको समय, श्रम र खर्च बचत हुनुका साथै आफ्नै गाउँमै प्रशासनिक सेवा लिन सक्ने अवसर मिलेको उल्लेख गरे।
यसअघि राष्ट्रिय परिचयपत्र लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेकामा यसपटक वडामै सेवा उपलब्ध हुँदा ठूलो राहत मिलेको स्थानीयवासीले बताएका छन् । कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम बस्तीका नागरिकलाई प्राथमिकतामा राखेर परिचयपत्र वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख शेर्पा, उप–प्रमुख गान्धी माया तामाङ, जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला, नगर प्रवक्ता, विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया