ओखलढुंगामा सात करोड बढीको सुन्तला उत्पादन


ओखलढुंगामा यस वर्ष सात करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाको तथ्यांक अनुसार जिल्लामा यस वर्ष ९५२ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

हाल सुन्तलाको बजार मूल्य प्रतिकिलो ७० देखि १ सय रुपैयाँसम्म रहेको र सोही आधारमा चालु आर्थिक वर्षमा ७ करोड ६१ लाख ६० हजार रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका सूचना अधिकारी इन्द्र राईले जानकारी दिए ।

राईका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन केही घटेको छ । केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ९९४ दशमलव ५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा चालु आर्थिक वर्षमा ९५२ मेट्रिक टन मात्र उत्पादन भएको छ । यसअनुसार गत वर्षको तुलनामा उत्पादन ४ दशमलव २७ प्रतिशतले घटेको हो ।

यद्यपि आर्थिक वर्ष २०८०/०८१ को तुलनामा पछिल्ला दुई आर्थिक वर्षमा सुन्तला उत्पादन भने वृद्धि भएको केन्द्रले जनाएको छ । आव २०८०/०८१ मा जिल्लामा ६६३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

यस वर्ष मौसम प्रतिकूलताका कारण उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा हाल २६७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । केन्द्रको तथ्यांक अनुसार कुल उत्पादन क्षेत्रफल २६७ हेक्टर र उत्पादनशील क्षेत्रफल १५६ हेक्टर रहेको छ ।

यसैबीच, फल टिपिसकेपछि नयाँ उत्पादनका लागि सुन्तलाका बोटलाई तयार पार्न गोडमेल, रोग–किरा व्यवस्थापन तथा नयाँ प्रविधिबाट हेरचाह गर्न सहयोग पुर्‍याउने उद्देश्यले कृषि ज्ञान केन्द्रले कृषकलाई तालिम दिएको छ । केन्द्रको आयोजनामा जिल्लाका ६ वटा पालिकाका १८ जना कृषकलाई तीन दिने प्रविधिमैत्री तालिम प्रदान गरिएको हो ।

तालिममार्फत सुन्तलाखेतीलाई व्यवसायिक बनाई कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्य रहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त कार्यालय प्रमुख पेशल खतिवडाले जानकारी दिए ।