सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत रेडियो नेपालले ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा स्थलगत बहस कार्यक्रम आयोजना गरेको छ । नगरका विकास, समस्या, चुनौती र सम्भावनालाई केन्द्रमा राख्दै आयोजित कार्यक्रममा जनसरोकारका विविध विषयमा खुला छलफल गरिएको हो ।
रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत भानुभक्त खड्का र हरि गिरीले सञ्चालन गरेको बहस कार्यक्रममा नगरपालिकाबासी नागरिक, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीले विकास निर्माण, कृषि, उद्यमशीलता, रोजगारी र सुशासनका विषयमा आफ्ना जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी नागरिकले युवा लक्षित स्वरोजगार कार्यक्रम विस्तार गर्नुपर्ने, कृषि तथा उद्यमशीलतामा संलग्नलाई लक्षित तालिम, अनुदान र प्रोत्साहनका कार्यक्रम नगरपालिकाले थप ल्याउनुपर्ने आवश्यकता औंल्याए । साथै पछिल्ला वर्षहरूमा बढ्दै गएको बाँदर आतंकका कारण खेतीपातीमा समस्या आएको भन्दै केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिए ।
नागरिकका जिज्ञासाको जवाफ दिँदै सिद्धिचरण नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र कटवालले सीमित स्रोत–साधनका बाबजुद पनि नगरपालिकाले नागरिकका माग सम्बोधन गर्न निरन्तर प्रयास गरिरहेको बताए । जनप्रतिनिधिले भने सीमित बजेटका कारण विकास निर्माणलगायतका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन कठिनाइ भइरहेको जनाउँदै बजेट अभावले चुनौती थपिएको उल्लेख गरे ।
नागरिकका माग, गुनासा र समस्यामाथि प्रत्यक्ष संवाद गर्ने यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै सहभागी सरोकारवालाले यसको निरन्तरतामा जोड दिएका थिए । ग्रामीण क्षेत्रका नागरिकको आवाज राष्ट्रिय प्रसारणमार्फत उठाउँदै जनसहभागिता, संवाद र जवाफदेहिता प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत भानुभक्त खड्काले जानकारी दिए ।

प्रतिक्रिया