ओखलढुंगामा चार महिनामा छ जनाको लडेर मृत्यु

भिजन समाचार
306
Shares

ओखलढुंगामा पछिल्लो चार महिनामा लडेर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को चार महिनाको अवधिमा मात्रै उक्त संख्या पुगेको हो ।

प्रहरीका अनुसार हालसम्म दर्ता भएका घटनामा मृत्यु हुने सबै पुरुष रहेका छन् । गत वर्ष २० जना पुरुष, पाँच महिला र एक बालक गरी २६ जनाको लडेर मृत्यु भएको थियो । त्यस्तै, २०८०/०८१ मा १४ जना पुरुष र चार महिला गरी १८ जनाको ज्यान गएको प्रहरी निरीक्षक मनिष लुइटेलले जानकारी दिए ।

लगातार तीन आर्थिक वर्षको तथ्यांक हेर्दा लडेर मृत्यु हुनेमध्ये ४० जना पुरुष, नौ जना महिला र एक बालक रहेका छन् । अफ्ठ्यारा गोरेटो बाटो, भीरैभीरको भौगोलिक बनावट, मदिरा सेवनपछि हिँडडुल गर्ने जस्ता कारणले दुर्घटनाको जोखिम बढिरहेको जिल्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

उनका अनुसार यस्ता घटनाको संख्या घटाउन प्रहरीले सचेतनामूलक कार्यक्रम विस्तार गर्दै जोखिमयुक्त क्षेत्रको पहिचान, जनचेतना र सावधानीपूर्ण व्यवहारलाई प्राथमिकतामा राखेर काम अघि बढाउने तयारी गरेको छ ।