लैङ्गिक हिंसा रोकथामका लागि सुनकोशीमा विद्यार्थीसँग अन्तरसंवाद

भिजन समाचार
126
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा प्रविधिको दुरुपयोगका कारण बढ्दै गएको लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले विद्यार्थीसँग अन्तरसंवाद कार्यक्रम गरिएको छ । ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत पालिकाका सात विद्यालयलाई समेटेर प्रवुद्ध माध्यमिक विद्यालय, च्यानममा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पत्रकार राजन रुचालले डिजिटल माध्यमबाट हुने साइबर–हिंसा, त्यसका कानुनी परिणाम तथा सुरक्षित डिजिटल प्रयोगबारे महत्वपूर्ण जानकारी दिए । विद्यार्थीलाई साइबर अपराध कसरी हुन्छ, पीडितले के–कस्ता कदम चाल्न सक्छन्, र अपराधीलाई कानुनले कस्तो सजाय दिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक रूपमा जानकारी गराइएको थियो ।

गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीका अनुसार यस वर्षको राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँ ः लैङ्गिक हिंसा अन्त्य गरौँ’ लाई व्यवहारमा उतार्दै विद्यार्थी र युवामाझ डिजिटल सचेतना अत्यावश्यक भएकाले कार्यक्रम आयोजना गरिएको हो । समयसँगै हिंसाका प्रकार बदलिँदै गएकोले प्रविधिसम्बन्धी जोखिमबारे विद्यार्थीस्तरमै चेतना जगाउन १३ वटा माध्यमिक विद्यालयमा चरणबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताइन् ।

गाउँपालिकाले १६ दिने अभियान केवल नारामा सीमित नहोस् भन्ने उद्देश्यले विद्यार्थी, शिक्षक र अभिभावकबीच समन्वय गर्दै डिजिटल सुरक्षाबारे निरन्तर जागरण अभियान चलाइने जनाएको छ । कार्यममा सुनकाेशी गाउँपालिकाका संस्थापक अध्यक्ष रुद्रप्रसाद अधिकारी, शिक्षा शाखाका प्रमुख विवेक तामाङ लगायत सराेकारवालाहरुकाे सहभागिता रहेकाे थियाे ।