ओखलढुंगा मौसमी फ्लुका बिरामी बढे

भिजन समाचार
12
Shares

जिल्ला अस्पताल रुम्जाटारलगायत जिल्लाका स्वास्थ्य संस्थामा मौसमी फ्लुका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तन र चिसो बढेसँगै रुघाखोकी, ज्वरो, दम सम्बन्धी बिरामीको संख्या बढेको हो ।

जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाका प्रमुख डा. रवि कुमार यादवका अनुसार पछिल्ला दिनमा दैनिक ४० देखि ५० जना बिरामी रुघा–खोकी, निमोनिया तथा दमका समस्या लिएर अस्पतालमा पुग्ने गरेका छन् ।

उनका अनुसार विशेषगरी बालबालिकामा निमोनिया बढी देखिएको छ भने वयस्क र वृद्धवृद्धामा रुघा–खोकी, दम तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएको बिरामीको चाप बढेको छ ।

चिसो मौसम, धुलो–धुवाँ, भीडभाड, दुषित पानीको सेवन, सरसफाईको कमि जस्ता कारण संक्रमण फैलिने जोखिम बढेको डा. यादवको भनाई छ ।

विशेषगरी बालबालिका र वृद्धवृद्धा समूहलाई न्यानो कपडा लगाउने, चिसोबाट जोगिने, सरसफाईमा ध्यान दिने, ज्वरो, लगातार खोकी, घाँटी दुख्ने जस्ता लक्षण देखिए तत्कालै नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।