ओखलढुंगामा २४ घण्टा देखि विद्युत अवरुद्ध

भिजन समाचार
70
Shares

लगातारको वर्षा र चट्याङका कारण ओखलढुंगाको अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ओखलढुंगाका अनुसार हिजो शनिबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द भएको हो ।

प्राधिकरणका प्राविधिक टोलीले समस्या समाधानका लागि प्रयास गरिरहेको भए पनि लाइन सुचारु गर्न नसकिएको नेपाल विद्युत प्राधिकण ओखलढुंगा वितरण केन्द्रका प्रमुख ईश्वर कुमार श्रेष्ठले बताए ।

उनका अनुसार गाइघाट खोटाङ बुइपा ओखलढुंगा र सोलुखुम्बु तिङ्ला ओखलढुंगा दुवै तिरको ३३ के.भि अवरुद्ध भएकाले जिल्लाको पुर्वी भेगहरुमा लाइन अवरुद्ध भएको हो । कर्मचारीहरु सोलुखुम्बु तिङ्लाबाट ओखलढुंगा तर्फको ३३ के.भि लाइन पेट्रोलिङ गर्न फिल्ड्मा पठाइसकिएकोले लाइन सुचारु गर्न काम भइरहेको उनको भनाई छ ।

तर आइतबार पनि लगातारको वर्षा, चट्याङ लगायतको कारण मर्मत कार्यमा कठिनाइ भइरहेकोले कहिले विद्युत आपूर्ति सुचारु हुने भन्ने निश्चित समय दिन नसकिने प्रमुख श्रेष्ठले बताए ।

२४ घण्टा भन्दा बढी समय विद्युत अवरुद्ध हुँदा जिल्लाका नागरिकलाई असहज भएको छ । सञ्चार, इन्टरनेट, मोबाइल चार्ज गर्न लगायतका विभिन्न समस्या भोग्नुपरेको उनीहरुले गुनासो गरेका छन् ।

छिटो मर्मत कार्य सम्पन्न गरी सेवा पुनः सुचारु गर्न सम्बन्धित निकायसँग नागरिकहरुले आग्रह गरेका छन् ।