मृगौला पीडित गिरीलाई पूर्वविद्यार्थीको सहयोग

भिजन समाचार
404
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडाका मृगौला पीडित विक्रम गिरीलाई सगरमाथा जनता माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन् । विद्यालयको एसएलसी ब्याच २०६१ का साथीहरूले दुवै मृगौला फेल भएर उपचाररत गिरीको जीवनरक्षाका लागि अभियान चलाएर आर्थिक सहयोग जुटाएका हुन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत गिरीलाई डायलासिसका क्रममा रकम अभाव नहोस् भनेर सिनपा–९ का युवा व्यवसायी तथा समाजसेवी विकास वाग्लेको नेतृत्वमा एक लाख छ हजार रुपैयाँ संकलन गरेर हस्तान्तरण गरिएको हो ।

सामाजिक सञ्जालमा म्यासेन्जर ग्रुपमार्फत देश–विदेशमा रहेका साथीहरूको सहयोगमा संकलित रकम समाजसेवी वाग्ले, यौबन राजभण्डारी, श्याम श्रेष्ठ, रेनुका ताम्राकार (ओली) र भोजी घोन्डे गुरुङले गिरीलाई हस्तान्तरण गरेका छन् ।

विक्रमका पिता निरकुमार गिरीका अनुसार करिब चार महिनाअघि दुबै मृगौला फेल भएपछि उनी नियमित डायलासिस गर्दै आएका छन् । उपचारका लागि ठूलो रकम आवश्यक परेकाले परिवार र साथीहरूले देश–विदेशमा रहेका शुभेच्छुक नेपालीहरूसँग गिरी परिवारले सहयोगको अपेक्षा गरेका छन् ।