सिद्धिचरणमा गुनासो सुन्ने सफ्टवेयर प्रयोगविहीन


करिब तीन लाख रुपैयाँ लगानी गरेर खरिद गरिएको सिद्धिचरण नगरपालिकाको गुनासो सुन्ने सफ्टवेयर प्रयोगविहीन बनेको छ । नागरिकको गुनासो व्यवस्थापन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालनमा ल्याइएको सो सफ्टवेयरमा दुई वर्ष बितिसक्दा पनि अहिलेसम्म एउटा पनि गुनासो दर्ता भएको छैन ।

नगरपालिकाको लेखा शाखाका अनुसार सो सफ्टवेयर खरिद गर्दा सेवाग्राहीलाई सजिलै अनलाइनमार्फत गुनासो राख्न सक्ने र त्यसअनुसार छिटोछरितो सेवा प्रवाह गर्ने अपेक्षा गरिएको थियो । तर, प्रयोगमा शून्य नतिजा देखिएको नगरपालिकाकी सूचना अधिकारी सुस्मा आचार्यले जानकारी दिइन् ।

उनका अनुसार इन्टरनेट पहुँच सीमित हुनु, नागरिक अझै प्रत्यक्ष भेटेरै गुनासो राख्दा सुनुवाई हुने विश्वास गर्नु, र सफ्टवेयरबारे पर्याप्त जानकारी नहुनुजस्ता कारणले अपेक्षित प्रयोग हुन सकेको छैन ।

आगामी दिनमा वेबसाइटमार्फत गुनासो राख्ने संस्कृतिलाई प्रोत्साहन दिन सूचना प्रवाह, सचेतना कार्यक्रम र प्रविधि–मैत्री पहललाई प्राथमिकतामा राखिने नगरपालिकाले जनाएको छ । नागरिक स्तरमा नगरपालिले गुनासो राख्ने सफ्टवयर बारे जानकारी नगराएका कारण पनि गुनासो नआएको हुनसक्छ ।