ओखलढुंगामा नगदेबालीका रूपमा परिचित अलैची खेतीले किसानलाई उल्लेखनीय आम्दानी दिलाएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाबाट करिब एक करोड ३२ लाख रुपैयाँ आम्दानी भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी इन्द्र राईका अनुसार जिल्लामा हाल करिब ३२ हेक्टर क्षेत्रफलमा अलैची खेती हुँदै आएको छ । सो क्षेत्रफलमा गरिएको खेतीबाट २१.४४ मेट्रिक टन अलैची उत्पादन भएको छ । उत्पादन मध्ये करिब ६.६६ मेट्रिक टन अलैची निर्यात गरिएको राईले जानकारी दिए ।
गत वर्ष अलैचीको मूल्य प्रतिकिलो तीन हजार दुई सय रुपैयाँ तोकिएपछि किसानले कुल उत्पादनबाट करिब एक करोड ३२ लाख बराबरको आम्दानी गरेका हुन् ।
जिल्लामा सबैभन्दा बढी अलैची खेती खिजीदेम्बा गाउँपालिकामा हुँदै आएको छ, भने चिशंखुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकामा पनि अलैची खेती विस्तार हुँदै आएको छ । यी क्षेत्रमा माटो र मौसम उपयुक्त भएकाले अलैची खेती राम्रोसँग फस्टाएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया