ओखलढुंगामा बैंक तथा वित्तीय संस्था बन्द, सेवाग्राही मारमा

भिजन समाचार
80
Shares

जेन–जी आन्दोलनपछिको सुरक्षा संवेदनशीलताको कारण देखाउँदै जिल्लाका बैंक तथा वित्तीय संस्था बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । बुधबारदेखि जिल्लामा सबै बैंक तथा वित्तीय संस्था बन्द भएपछि दैनिक आर्थिक कारोबार प्रभावित भएको हो ।

बुधबार राष्ट्रिय वाणिज्य बैंकसहित जिल्लाका सबै वित्तीय संस्था पूर्ण रूपमा बन्द रहेका थिए । तर बिहीबार भने राष्ट्रिय वाणिज्य बैंकले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सेवा सञ्चालन गरेको शाखा प्रमुख सुरेन्द्र बन्जाराले जानकारी दिए । उनका अनुसार सुरक्षा चुनौतीका कारण बुधबार पूर्ण रूपमा बन्द गरिए पनि बिहीबार अत्यावश्यक सेवामात्रै प्रदान गरिएको हो ।

अन्य अधिकांश बैंक तथा वित्तीय संस्था भने बन्द नै रहेका कारण बैंकिङ कारोबार, भुक्तानी, निक्षेप झिक्नेदेखि नियमित आर्थिक गतिविधि प्रभावित भएको छ । सेवाग्राहीहरू सेवाविहीन भएर फर्किन बाध्य भएका छन् । सिद्धिचरण नगरपालिका–२ निशंखाका वृद्ध बल बहादुर कटवाल बुधबार पेन्सन लिन आएका थिए तर बैंक बन्द भएपछि निराश हुँदै घर फर्किनु परेको उनले गुनासो गरे ।

अन्य सरकारी कार्यालय भने प्रायः खुलेरै सेवा दिइरहेका छन् ।