ओखलढुंगामा आज जेन–जी पुस्ताको विरोध प्रदर्शन

भिजन समाचार
90
Shares

देशभर भइरहेको जेन–जी आन्दोलनको समर्थनमा ओखलढुंगामा मंगलबार शान्तिपूर्ण विरोध प्रदर्शन हुने भएको छ । काठमाण्डौंलगायत देशका विभिन्न स्थानमा सोमबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, परिवारजनप्रति समवेदना व्यक्त र सरकारको दमनको विरोध गर्ने उद्देश्यले प्रदर्शनको तयारी भएको हो ।

जिल्ला सदरमुकाममा तीन स्थानबाट ¥याली सुरु हुनेछ । मिलनचोकबाट सुवास गुरुङ, रामबजारबाट काश्मिर राजभण्डारी र जिविस टोलबाट राजेश खत्रीको नेतृत्वमा प्रदर्शन हुने जनाइएको छ । बिहान ११ बजे गणेशटोलमा भेला भई संयुक्त रूपमा शान्तिपूर्ण ¥याली निकालिने छ ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीका अनुसार आन्दोलन शान्तिपूर्ण बनाउन बिहानै आन्दोलनकारी युवाहरूसँग छलफल गरिएको छ । सुरक्षा व्यवस्थालाई कडाइ गर्न चोक–चोक र बजार क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए। “सभ्य र शान्तिपूर्ण रूपमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ,” उनले भने ।

हिजो सोमबार काठमाण्डौंसहित विभिन्न शहरमा भएको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको र चार सयभन्दा बढी घाइते भएका थिए ।