मोलुङ गाउँपालिकाको प्रशासन भवन निर्माण ८३ प्रतिशत सम्पन्न


मोलुङ गाउँपालिकाको प्रशासन कार्यालयको नयाँ भवन निर्माण कार्य ८३ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिमतिर सम्झौता भएको यो भवन निर्माणको काम २०८२/८३ भाद्र दोस्रो साता सम्म आइपुग्दा उल्लेखनीय प्रगति भएको हो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष गौतमका अनुसार सघिंय सरकारको पाँच करोड ४० लाख र गाउँपालिकाको छ करोड नौ लाख १५ हजार रुपैयाँसहित कुल ११ करोड ४९ लाख १५ हजार रुपैयाँको बजेटमा भवन निर्माण भइरहेको छ । प्राप्चा देउरालीस्थित चार तले सुविधासम्पन्न भवन आगामी मंसिरभित्र सम्पन्न गरी सेवा प्रवाह थाल्ने तयारी भइरहेको उनले बताए ।

हालको प्रशासनिक भवनमा एउटै कोठामा धेरै शाखा सञ्चालन गर्नुपर्ने, सेवाग्राहीले लामो समय पालो कुर्नुपर्ने, शौचालय सुविधाको अभावजस्ता समस्या रहेका कारण नयाँ भवन सञ्चालन भएपछि सेवाग्राही, कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालालाई सहज हुने अपेक्षा गरिएको छ ।

भवन निर्माणको ठेक्का विवश इन्टरनेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.सँग कुल ११ करोड ७४ लाख छ हजार ७७७ रुपैयामा सम्झौता भएको हो । अधिकांश संरचनागत काम सम्पन्न भइसकेको भए पनि हाल झ्याल–ढोका जडान, रंगरोगन, आन्तरिक सजावट र विद्युत् जडानलगायत अन्तिम चरणका काम भइरहेको गाउँपालिकाले जनाएको छ ।