ओखलढुंगामा सुशासन र विकास अघि बढाउने प्रजिअ मंग्रातीको प्रतिबद्धता

भिजन समाचार
902
Shares
प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती

ओखलढुंगाको नव नियुक्त प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले जिल्लामा सुशासन प्रवद्र्धन र रुग्ण बनेका विकास आयोजनालाई अघि बढाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

जाजरकोटबाट सरुवा भई ओखलढुंगा आएका प्रजिअ मंग्रातीले बुधबार पत्रकारहरूसँगको भेटघाटमा जिल्लाका प्रमुख समस्या र चुनौतीबारे प्रारम्भिक जानकारी लिँदै समन्वयात्मक र योजनाबद्ध ढंगले काम गर्ने बताए ।

उनका अनुसार प्रारम्भिक विश्लेषणमा जिल्लामा विकास आयोजना रुग्ण बनेका, सरकारी सवारीसाधनको दुरुपयोग, यौन अपराध, लागुऔषध दुव्र्यसन र मानव बेचविखनजस्ता समस्या देखिएका छन् । उनले यी समस्याहरू समाधानका लागि सुरक्षा निकायसँग नजिकबाट समन्वय गर्ने आश्वासन दिए ।

सरकारी कार्यालय र सरोकारवाला निकायको नियमित अनुगमन गरेर सुशासन प्रवद्र्धन गर्ने प्रजिअ मगरातीले प्रतिवद्धता जनाएका छन् । विकास आयोजनाहरू समयमै सम्पन्न गर्न र रुग्ण अवस्थामा रहेका आयोजनालाई पुनः सक्रिय बनाउने बताएका छन् ।

आगामी दशैं–तिहारलगायतका चाडपर्वलाई सौहार्दपूर्ण र सुरक्षित बनाउन पनि जुट्ने उनले बताए । पत्रकारहरूले पनि कार्यक्रममा जिल्लाका समस्या र सुधारका सुझावहरू राखेका थिए ।

मंग्रातीले सरकारी निकायबीचको तालमेल र सहकार्यलाई मजबुत बनाउँदै जनताको हितमा प्रभावकारी र जनमैत्री प्रशासनिक सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।