ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा अपाङ्गता भएका विद्यार्थीप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने उद्देश्यले दौतरी शिक्षा कार्यक्रम सुरु गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को पहिलो चरण अन्तर्गत मंगलबारबाट चार वटा विद्यालयमा कार्यक्रम थालनी गरिएको हो । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मानेभञ्ज्याङ गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष आश्राचन राईले जानकारी दिए ।
पहिलो दिन मंगलबार मनकामना माध्यमिक विद्यालय वाक्सा, बुधबार भीमसेनस्थान माध्यमिक विद्यालय केतुकेमा र बिहीबार महाहदेवस्थान माध्यमिक विद्यालय हिलेपानीमा कार्यक्रम सञ्चालन भएको छ । यही भदौ २० गते हर्कपुर माध्यमिक विद्यालय, हर्कपुरमा कार्यक्रम हुने जनाएको छ ।
राईका अनुसार अपाङ्गता भएका विद्यार्थीलाई आत्मविश्वासी बनाउने तथा अन्य विद्यार्थी र शिक्षकमा समान व्यवहारको जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । पहिलो वर्ष चार विद्यालयमा कार्यक्रम सञ्चालन हुने र बाँकी विद्यालयमा आगामी आर्थिक वर्षमा विस्तार गरिने उपाध्यक्ष राईले जानकारी दिए ।

प्रतिक्रिया